दाङ, भदौ ३० । बाँकेमा दुई युवामाथि भएको सांघातिक खुकुरी प्रहारको घटनाबारे जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
अदालतका सूचना अधिकारी सुरेश मल्लले शुक्रबारदेखि जारी रहेको बहसको आदेश आज आउन सक्ने संभावना औंल्याए ।
मल्लका अनुसार शुक्रबार नै सरकारी वकिल पाँच जनासहित जाहेरी वालाका तर्फबाट थप आठ जना वकिले बहस सकेका थिए । आइतबार जोहरीवालाका तर्फबाट थप दुई जनाले पनि बहस सकेका छन् । अहिले प्रतिबादीको तर्फबाट वकिलले बहस गर्ने क्रम सुरु भएको छ । प्रतिबादीका तर्फबाट १३ जना वकिलले बहसका लागि नाम टिपाएको उनले बताए ।
त्यसपछि जबाफी बहसपनि हुन सक्ने छ । मल्लले एकजनाले वकिलले त्यसका लागि नाम टिपाएको जानकारी दिए ।
‘सकभर आजै सबै बहस सक्ने र थुनछेक आदेश हुने भन्ने छ,’ उनले भने ।
अदालत भित्र थुनछेक बहस चली रहँदा बाहिर दुबै पक्षको धर्ना चल्दै आएको छ । पीडित पक्षधर सुरुमा खुकरी तथा खुँडा प्रहारमा संलग्न ब्यक्तिहरुलाई कसुर अनुरुपको कानुनी कारबाही हुनुपर्ने माग गर्दै धर्नामा बस्दै आएका थिए । शुक्रबारदेखि आक्रमणमा संलग्न पक्षधरहरु पनि धर्नामा आएका हुन ।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले एउटा पक्षले अदालत परिशरको उत्तर तर्फ र अर्कौ पक्षले अदालत परिशरको दक्षिण तर्फ भेला भइ धर्ना जारी राखेको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक सय बढी प्रहरी परिचनाल गरिएको जानकारी दिए ।
बाँकेमा को माथि कहिले भएको थियो खुकुरी प्रहारको घटना ?
बाँकेको राप्ती सोनारी गाउँपालिका – ५ बिनौना चोकमा भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षकै सुलभ मल्लमाथि एक समुहले बाटो ढुकेर आक्रमण गरेको थियो । दुबै घाइतेको हालसम्म भारतको लखनउमा उपचार जारी छ । उनीहरु दुबै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेका सदस्यहरु हुन ।
उनीहरु माथि खुकुरी र खुँडा प्रहार गरेको अभियोगमा भदौ १ गते राति नै राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राप्ती सोनारी – २ कै फरार मध्यका ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई पनि पछिल्लो समय नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
घाइते मध्य सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले ज्यानमार्ने उद्योग अन्तर्गत भदौ २ गते घटनाका योजनाकार मानिएका वडाध्यक्ष ओलीसहित नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तरगत लिखित रुपमा उजुरी दिएकी थिइन । वडाध्यक्ष ओली गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी युवा संघ बाँकेका अध्यक्षपनि हुन ।
चेतनाले राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षीय नारायण डाँगी, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३५ वर्षीय ऋषी देवकोटा, सोही ठाउाकै ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी, २९ वर्षीय नवीन भण्डारी, ३० वर्षीय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्ताविरूद्ध ज्यान उद्योगको मुद्दा दिएकी थिइन ।
चेतनाले खुकुरी र खुडा प्रहार घटनामा संलग्न अन्य ४ ÷५ जनाको पहिचान नभएको हुँदा उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन मागपनि गरेकी छिन् । तर, अन्य आरोपितहरु हालसम्म फरार रहँदै आएका छन् ।
घटनामा संलग्न सबै दोषीलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले यसअघि घटनामा संलग्न सबै दोषीलाई पक्राउ गरि कानुनी कारबाहीको मागसहित बिभिन्न चरणका दबाब मुलुक कार्यक्रमहरु गरेको थियो ।
नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष बिद्धान गुरुङदेखि बाँके जिल्ला अध्यक्ष बीरेन्द्रबहादुर शाह, दाङ जिल्ला अध्यक्ष टीकाराम घर्ती लगायत विभिन्न व्यक्तिले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना र दोषीलाई कानुनी कारबाहीको माग गरेका थिए ।
नेपाल तरुण दल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत काँग्रेसकै गृहमन्त्री रमेश लेखकलाई सोही मागसहित ज्ञापन पत्र पठाएको थियो ।
तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहको नेतृत्वमा पुगेको तरुण नेताहरु सम्मेलित टोलीले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगंज उपमहानगरका अध्यक्ष संदिपजंग शाह, परिवारका तर्फबाट संदिपकी आमा, श्रीमति र सुलभकी श्रीमति पुगेका थिए ।
भदौ १ गते शनिबार राप्ती गाउँपालिकामा आयोजना गरिएको फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा ढुकेर बसेको वडाध्यक्ष ओलीसहितको एक समुहले सन्दिप बिष्ट र सुलभ मल्लमाथि आक्रमण गरेको प्रहरीले यसअघि जानकारी दिएको थियो ।
प्रहरीका अनुसार बिगतमा खुकरी प्रहारबाट घाइते भएकाहरु र खुकुरी प्रहार घटनामा संलग्न वडाध्यक्ष ओलीसहितका ब्यक्तिहरु एउटै समुहमा थिए । बालुवा गिट्टी निकासी पैठारी लगायतका ठेक्का पट्टाको काम उनीहरुले गर्दै आएका थिए ।
पछिल्लो समय घाइते मध्यका बिष्ट र मल्ल वडाध्यक्ष ओलीको समुहबाट अलग भएका थिए। त्यसपछि उनीहरू नेपाली कांग्रेस निकट नेपाल तरूण दलमा प्रवेश गरेका थिए।
राजनीतिक प्रतिसोधका साथै विष्ट र मल्लले आफ्नो खोलाको ठेक्का पट्टाको काममा अवरोध पु¥याउन सक्ने सोचले उनीहरुमाथि आक्रमण भएको प्रहरी बताउँछ ।