लक्ष्मण बस्नेत ,दाङ,भदौ १९ । दाङको तुलसीपुरमा स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ हुने भएको छ ।
नेपाली काग्रेस तुलसीपुर नगर समितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता आउदो असोज तिन गते देखि सुरु हुने छ ।
नेपाली काग्रेस तुलसीपुर नगर समितिको भदौ १८ गते बसेको बैठकले तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नगर सभापती सुरेश हमालले जानकारी दिए ।
कुबेर बहादुर शाह राप्ती अञ्चलकै खेलकुद क्षेत्रको हस्ती थिए । उनले खेलकुद क्षेत्रमा खर्चेको समय र लगानी सबै खेलाडीका स्मरण गर्न योग्य छ तर बिडम्बना हाल सम्म खेलकुद सम्बद्ध सरोकारवा निकायले सम्झन नसक्दा स्मृती कप भलिबलको आयोजना गरिएको सभापती हमालले बताए ।
नगर उपसभापति बिनिल केसीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आउदो असोज ३ देखि ५ गते सम्म संचालन गर्ने र प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न सबै प्रकारका तयारी लाई तिव्र पार्ने निर्णय गरेको नगर सचिब बिमल पौडेलले जानकारी दिए ।
स्मृती कप मार्फत नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिए ।
३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने छ ।
जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई नगद ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले बताएको छ ।