२०८१ भाद्र २७ गते बिहिवार

बुटवलमा ६ अर्ब १८ करोड बढी लागतमा बन्ने अस्पताल भवनको शिलन्यास

छतमै हेलिकोप्टर बस्ने सुबिधा

बुटवल, भदौ १५ । लुम्बिनी प्रादेशिक अस्पतालको शिलन्यास भएको छ । भवन १२ तले हुने छ । एक हजार दुई सय सैयोको अस्पताल भवन सुविधा सम्पन्न रहने छ । ।

६ अर्ब १८ करोड बढी लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट मध्यको एक हो ।

प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण पनि एक हो । शनिबार उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भवनको शिलान्यास गरेका हुन ।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको पनि उपस्थिती थियो ।
लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो ।

संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल हुदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया मुख्यमन्त्री चेतनारायण आचार्यको पालामा शिलन्यास गरिएको हो ।

२०७६ सालमा तत्कालीन सरकारले यसलाई ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो । लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय सैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ ।

लुम्बिनी सरकारको लागतमा टेन्डर प्रक्रिया पुरा भइ पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसंग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।

भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिलर गाड्ने काम) पुरा भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङको काम सकिएको छ । । वरिपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम हुँदै आएको छ ।
नयाँ बन्ने भवनको डिपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन । ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन ।
भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसुती र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।

हालको संरचना बाट विस्तार गरि एक हजार दुई सय सैयामा बहु –अनुसन्धानात्मक अस्पतालको रुपमा स्तरउन्नति गर्न लागिएको छ ।

पहिलो चरणमा दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० सैया क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।

वि.सं. १९६७ फागुन १५ गते ६ सैयाबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्र कै सबै भन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो ।
३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्त संचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।

हाल अस्पतालमा ५ सय २० सैया छन् । दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने गर्छन । अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेका छन ।

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट सेवा प्रवाह हँदै आएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *