२०८१ भाद्र २८ गते शुक्रवार

तुलसीपुर बजार भित्रै दिनहुँ पातुखोलामा हेलिन बाध्य छन् विद्यार्थी

यही ठाउँका मुख्यमन्त्री भए, अर्थमन्त्री भए तर हामी संग गरेका वाचा पुरा गर्न कोही लागेनन् – कँवर

तुलसीपुर, साउन ३० । तुलसीपुर उपमहानगरपािलका वडा नं. ५ का विद्यार्थी आरएन परियारले पढ्ने स्कुल वडा नं. ९ मा छ । कक्षा १० मा पढ्ने उनी दिनहुँ बिद्यालय जाँदा खोलामा हेलिनुको बिकल्प छैन ।

खोला ठूलो हुँदा कपडा सबै निथुक्क भिजेका हुन्छन् । झोला र कापी किताब जोगाउँन निकै मेहनत गर्नु पर्छ । खहरे पातुखोलाका कारण सबै भन्दा सास्ति आँफु जस्ता विद्यार्थीले भोग्दै आएको परियार बताउँछन् ।
‘ कहिले काँही लाग्छ खै यहाँ हाम्रो दुःख देख्ने कोही छ जस्तो लाग्दैन,’ परियारले भने ‘राज्य छ कि छैन जस्नै भान हुन्छ ।’
तुलसीपुर– ५ पातुखोलास्थित ज्ञानज्योति आधारभूत विद्यालयमा खोला पारीको वडा नं. ९ बाट झन्डै ६० जना विद्यार्थी बर्षाको समयमा दिनहुँ खोलासंग हेलिदै विद्यालयमा आउने गरेको प्रधानध्यापक मेघराज घिमिरेले बताए ।
पातुखोलामा पुन नहुँदा विद्यार्थी संधै खोलामा पस्नु पर्ने हुँदा कपडा, जुत्ताका साथै कहिले काँही किताब कापी समेत भिजाएर बिद्यालय आइपुग्ने गरेका प्रअ घिमिरेले जानकारी दिए । यो बिद्यालयमा अधिकाँस विपन्न परिवारका दलित समुदायका बालबालिका अध्यनरत रहेको पनि उनले बताए ।

दाङको तुलसीपुरको मुख्य बजार वडा नं. ५ मा पर्छ । वडा नं. ६ मा पनि बजारको केही हिस्सा छ ।
तर, यही उपमहानगरपालिका– ५ बसर्पाकदेखि दक्षिण क्षेत्रका बासिन्दा बर्षौंदेखि ठगिदै र हेपिदै आएको छन् ।

वडा नं. ६ र वडा नं ९ को अटोभिलेज जोड्ने पातुखोलाको बीचमा पुल नुहँदा यस क्षेत्रका बिद्यार्थीले बर्षाको समयमा पढ्नकै लागि दिनहुँ पातुखोला संग पैंठेजोरी खेल्नुपर्ने बाध्यता कायमै छ । हैन भने पाँच मिनेटका पुगिने दुरी झन्डै आधा घन्टा हिड्नुको बिकल्प छैन ।


पुल नहुँदा विद्यार्थीदेखि आम नागरिकले वर्षौंदेखि ज्यानको बाजी लगाएर खोला पार गर्नुपर्ने उनीहरुको यो बाध्यता कहिले हट्ला ? त्यसको कुनै सुनिश्चिता नरहेको स्थानीय खुमबहादुर कँवरले बताए । पुल निर्माणका लागि बर्षौंदेखि हारगुहार गर्दै आएपनि कसैले नसुनेको उनले गुनासो पोखे ।

निर्वाचनको समयमा अनेक आश्वासन बाँड्ने दलका नेताहरुले निर्वाचन पछि सबै वाचाहरु भूल्ने गरेको उनले गुनासो गरे । ‘ यही ठाउँका मुख्यमन्त्री भए, अर्थमन्त्री भए तर हामी संग गरेका वाचा पुरा गर्न कोही लागेनन्,’ उनले भने ‘ सबैले झुट बोलेर भोट लिएपछि हामीलाई बिर्सिए ।’

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल ओलीको पहलमा २०७७ सालमा अटोभिलेजदेखि तुलसीपुर ५ र ९ नम्वर वडालाई जोड्ने गरी मल्टि स्पान ट्रस ब्रिज बनाउन भन्दै सर्भे भएको थियो । त्यतिखेर छिट्टै पुल निर्माण हुने आश्वासन बाँडिएको थियो । त्यो कुरा आश्वासन र कुरा सुन्दा मात्रैपनि स्थानीयमा खुसीको सीमा थिएन ।
अनुमानित करिब ५० लाखमा खर्च लाग्ने भनिएको त्यो पुलको काम हालसम्म सुरु हुन नसक्दा स्थानीय निराश र आक्रोसित बनेको तुलसीपुर – ५ की चन्दा गिरीले बताइन ।

‘अब त नेता आए बहिस्कार गर्ने कुरा हाम्रो टोलमा चल्न थालेको छ,’ गिरीले भनिन् ‘ आश्वासन बाँड्ने र काम नगर्ने जो भएपनि अब टोलमा प्रबेश दिने छैनौं ।’ उनले पातुखोलाको अटो भिलेज वार पार जोड्ने पुल निर्माणका लागि आफूहरूले बर्षौंदेखि पलह गर्दै आएको भएपनि कसैले वास्ता नगरेको गुनासो गरिन ।

सबै तस्बिरहरु – बिकाश डाँगी

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *