दाङ, साउन २५ । बाँकेमा स्कूल बसको ठक्करबाट एक जना युवकसहित १३ वटा खसी बाख्राको मृत्यु पछि उत्पन्न समस्या समाधानका लागि कोहलपुरमा सरोकारवालाहरुको बीचमा छलफल जारी छ ।
बसको ठक्करबाट जिल्लाको राप्ती सोनारी गाउँपालिका – ९ का २६ बर्षीय गोबिन्द वलीको घटनास्थलमै मृत्यु भएको थियो । साथै सडक किनारमा रहेका १३ वटा खसी बाख्रापनि एकै साथ मरेका थिए । बसको ठक्करबाट एकै साथ आधा दर्जन खसी बाख्रा घाइते भएका थिए ।
बिहीबार बेलुका ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुरबाट पूर्व तर्फ बिद्यार्थी छोड्न आइ रहेको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै बाख्रा धनि (ग्वाला) गएका वलीसहित खसी बाख्रालाई एकैसाथ ठक्कर दिएको थियो ।
ठक्कर दिने बस कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कूलको थियो । दुर्घटना पछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । स्थानीयले सडक खण्ड अवरुद्ध पारेको हुँदा प्रहरीले यातायातका साधन डाइभर्सन गरि सञ्चालन गरेको थियो ।
राति ११ बजे प्रहरीले सडकबाट मृतकको शब उठाएको थियो ।
त्यसपछि बल्ल मृतकको शब पोष्टमार्टमका लागि कोहलपुर अस्पताल लगिएको थियो । प्रहरीले संझाइ बुझाई गरेपछि त्यसपछि बल्ल स्थानीयले अवरुद्ध सडक खण्ड खोल्न मानेका थिए ।
दुर्घटना पछि मृतकका आफन्तले चालकले लापरबाही पूर्वक बस चलाएको हुँदा कानुन अनुसार कारबाही र उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।
त्यसपछिको उत्पन्न समस्या समाधानका लागि शुक्रबार बिहानदेखि इलाका प्रहरी कार्यालय कोहलपुरको रोहवरमा बिद्यालय ब्यबस्थापन समिति, बिद्यालयका शिक्षक र पीडित पक्षका बीचमा छलफल जारी रहेको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बसका चालक प्रकाश बिकको खोजी कार्य जारी रहेको जानकारी दिए । दुर्घटना लगतै उनी बस छोडेर फरार भएका थिए ।