तुलसीपुर ,साउन ७ । छिमेकीको घरमा जाँदै गरेकी एक बालिकाको मोटरसाइकलको ठक्कर बाट मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीकी १० वर्षीया स्वस्तिका चौधरीको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।
आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा बाटो काट्ने क्रममा उनलाई आइतबार बेलुका करिब पौने आठ बजेतिर मोटरसाइकलले ठक्कर दिएपछि अचेत बनेकी थिइन ।
स्थानीय चन्द्रप्रसाद चौधरीकी छोरी स्वस्तिकालाई तत्कालै लमही अस्पताल पु¥याइएको भएपनि उनको उपचारका क्रममा केही बेरमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले फरककोणलाई बताए । बाटो काट्दै गरेकी स्वस्तिमालाई पश्चिमवाट पूर्व तर्फ जाँदै गरेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका २९ वर्षीय अपिल शर्मापनि घाइते छन् । लमहीमा प्रारम्भिक उपचार पछि शर्मालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
