२०८१ भाद्र २६ गते बुधवार

छत्रेश्वरीमा साढे ९१ लाखको सिंचाइ आयोजनाले किसान खुसी

सल्यान, असार ३१ । दुई आर्थिक वर्षमा भएका गरेका जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसान हर्षित भएका छन् ।

वडा नं ५ मा काप्रेचौर जरेखोली सिंचाइ आयोजनाको काम पुरा भएपछि स्थानीय किसान खुसी भएका हुन । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्ने आशा गरिएको छ ।
त्यसबाट ६५ घरधुरीका किसान लाभान्बित हुने छन् । छत्रेश्वरी गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रम, दोश्रो चरणको साझेदारीमा साढे ९१ लाख बढीको लागतमा काप्रेचौरमा सिंचाई आयोजनाको काम पुरा भएको हो ।

छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले सुन्तला लगाएतका फलफुल, तरकारी, अन्नवाली तथा स्थानीय कृषि उत्पादन बृद्धिका लागि महत्वपूर्ण टेवा पुग्ने आशा ब्यक्त गरे ।

आफ्नो क्षेत्रमा सुन्तला, तरकारी खेतीको राम्रो सम्भावना रहेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष निमा बुढाले योजना सम्पन्न भएपछि गाउँभरी खुसीयाली छाएको बताइन् । निर्माण समितिका कोषाध्यक्ष गिता कवर मगरले विगतमा सानो पानीको श्रोतबाट थोरै थोरै तरकारी खेती गर्ने गरेको तर सुन्तला, अन्य फलफुल र तरकारी खेतीका लागि समस्या हुनेगरेकोमा वृहत सिंचाइ आयोजना सम्पन्न भएपछि आफुहरु जस्ता किसानलाई हौसला मिलेको बताइन् ।

अब किसानलाई सिंचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन ।

समयमै बाली लगाउन, खडेरीमा समेत सिंचाई गर्न र किसानको आर्थिक अवस्थालाई माथि उठाउनका लागि वृहत सिंचाइ आयोजनाले फाइदा पु¥याउने गाउँपालिका गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । उनले आइतबार आयोजनाको उद्घाटन गरेका हुन । उद्घाटन अवसरमा स्थानीय उपभोक्ताले काप्रेचौरमा मौलिक कला संस्कृतीको प्रदर्शन गरेका थिए ।
बाँझो जमिनमा सिंचाइ सुविधा पुगेपछि आधुनिक र व्यवसायिक रुपमा कृषिलाई अगाडि बढाउन सजिलो हुने छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको भनाई छ ।

सुन्तला र टिमुर खेतीको पकेट क्षेत्रको रुपमा रहेको काप्रेचौर क्षेत्रमा अवदेखि आँकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था अन्त्य भइ आवश्यकता अनुसार बाह्रै महिना र २४ सै घण्टा सिंचाइ गर्न सकिने भएको छ ।

आर्थिक वर्ष २०७९ ÷ ०८० बाट सुरु भएर चालु आर्थिक वर्षमा सम्पन्न योजना अन्तर्गत ७० घनमिटरका दुईवटा सिंचाइ पोखरी निर्माण भएका छन् । ४ हजार ५०० मिटर पाइपलाइन मार्फत करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला कोअर्डिनेटर ताराप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रमको ७८ लाख ३३ हजार अनुदान तथा १३ लाख ३२ हजार ८८७ रुपैयाँको जनश्रमदान गरेर ९१ लाख ६५ लाख ८८७ लागतमा सिंचाइ आयोजनाको काम पुरा भएको हो ।

स्थानीय तहको साझेदारीमा बेलायत सरकारको आर्थिक सहयोग, मोट म्याक्डोनाल्डको प्राविधिक सहयोग र नेपाल सरकार वन तथा वातारण मन्त्रालयद्वारा सल्यानका ४ स्थानीय तहमा नेपाल जलवायु सहयोग कार्यक्रम दोश्रो चरण सञ्चालन भएको छ । छत्रेश्वरी गाउँपालिकासंगै जिल्लाको शारदा र बागचौर नगरपालिका तथा कुमाख गाउँपालिकामा नेपाल जलवायु सहयोग कार्यक्रम अन्तर्गत विभिन्न योजना पुरा भएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *