२०८३ असार २७ गते शनिवार

रजौरा कमल पोखरीको पानी फेरि किन सुक्यो ?


तुलसीपुर , असार ३० । दुई करोड बढी खर्चिएर पक्की संरचना बनाएपछि मध्य असारमा तुलसीपुरको उपमहानगरपालिका–६ रजौराको कमल पोखरीमा पानी भरिभिराउ भएको थियो ।


पानी भरिएपछि ताल सुन्दर देखिन थालेको थिए । स्थानीय पनि खुसी बनेका थिए । तर, पछिल्लो समय फेरि पनि तालको पानी सुकेपछि स्थानीय निराश तथा खिन्न छन् । पाँच बर्ष पहिलेदेखि प्राकृतिक अवस्थाको कमल पोखरीलाई क्रंकिट बनाउन थालिएको थियो ।

जस्को प्रमुख उदेश्य बिपदको समयमा पानी जोहो गर्नका लागि थियो । त्यसैमाथि अन्य बिभिन्न सरकारी निकायले सौदन्र्यकरणका नाममा बजेट खन्याएका थिए । झन्डै एक बिगाहा क्षेत्रफलको तालको वरिपरी पर्खाल लगाउनेदेखि फुथपाथ, रेलिङ बनाउने र तालको सतह खनेर गहिरो बनाउने लगाएका कामहरु भएका थिए ।
तर, त्यति गर्दापनि गत बर्षायाम भर पोखरीमा एक थोपा पनि अडेन । पानी बिनाको पोखरीका कारण ब्यापाक आलोचना सुुरु भएको थियो । त्यसैले फेरि यस पटक तयार नेपालले कमल पोखरी सुधार कार्यका झन्डै ६० लाख खर्चेर फागुन २३ गतेदेखि असार ३ गतेसम्म काम गरेको थियो।

कमल पोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोल एक हजार दुई सय ६० घनमिटर फिलिङ गरिएको थियो । त्यसरी माटो फिलिङ गर्दा प्रत्येक लियरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको थियो । माटोसहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम भएको थियो ।

यो प्रयास पछि मध्य असारमा तालभित्र पानी भरिभराउ भएको थियो । तर ,त्यो पानी यतिखेर सुकी सकेको छ ।

यस पटक ताल भित्रको पानी चिरो परेका कारण सुकेको हो । ताल भित्र प्रबेशका लागि निर्माण गरिएको भ¥याङ (सिडी)को दक्षिण कुनोमा चिरा (दुलो)परेको हुँदा पानी त्यहीबाट बगेर गई तालको पानी सुकेको हो । जस्ले गर्दा फेरि स्थानीय खिन्न भएका छन् ।

तयार नेपालले ताल भित्र सुधारको कार्य गरि रहँदा यसपटक तुलसीपुर उपमहानगरपालिकाले तालको बाहिर गेटसहित केही पर्खाल निर्माणको काम गर्न साढे ६ लाख खर्चिएको थियो ।
तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले पोखरी खुल्लै छोड्न हुन्न भन्ने उदेश्यका साथ रकमान्तर गरी नगरले छुट्टै काम गरेको बताएका थिए ।

कमल पोखरीमा हालसम्म विभिन्न निकायले डेढ करोड जति रकम खर्च गरि सकेका छन् । पोखरीका लागि यसअघि तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रुपैयाँ यस भन्दा पहिले नै लगानी गरेका थिए ।


यी सबै निकायको झन्डै डेढ करोड रकमबाट प्राकृतिक अवस्थाको ताललाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाउनुका साथै बीचमा क्रंकिट कमलको आकृती निर्माण गरिएको थियो ।

तयार नेपालले पछिल्लो समय फेरि ताल सुधारका लागि झन्डै ६० लाख खर्चेको थियो । तयार नेपालको पछिल्लो सुधार कार्यले ताल भित्र पानी भरिभराउ भएको थियो । तर, त्यो पानी दूई हप्ता दिन नपुग्दै फेरि सुके पछि त्यसको आलोचना हुन थालेको छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *