तुलसीपुर, असार २९ । दाङमा झुलुङ्गे पुलमाथि खड्किएको एउटा गोरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
दंगीशरण गाउँपालिका– १ रामपुरका ज्योती चौधरीको खेत बबई नदी वारी छ । घर खेतका बीचमा बबई नदी छ । त्यसैले चौधरीलाई हरेक बर्षा खेती गर्दा वारपार नगरी सुख हुँदैन ।
तर, शुक्रबार बेलुकी चौधरीलाई कल्पना नै नगरेको परिस्थिति आइ लाग्यो ।
नदी वारी जुर्पन्या भन्ने ठाउँमा दिनभर खेत जोतेर घर फर्किदै गरेको एउटा गोरु झुलुङ्गे पुलमा फस्यो । पुलमाथि गोरु टंगियो ।
त्यो गोरु अड्केको दृष्य दार्चुलामा खच्चड अड्के भन्दा कम्ता लाग्ने थिएन । गोरु आँफैले पनि त्यहाँबाट निस्कन संभव भएसम्मको बल लगाइ रहेकै थियो । त्यसको प्रयासमा ज्योतिले पनि उस्तै प्रयास गरे । तर, गोरु निकाल्न सकेनन् । उनले गाँउका मानिसहरुलाई गुहार मागे । उनीहरुले प्रयास गर्दापनि निकाल्न संभव भएन । स्थानीय जनप्रतिनिधिहरुलाई खबर भयो । उनीहरुले इलाका प्रहरी कार्यालय हेकुली गुहारे । संभव भएसम्मका प्रयासहरु गर्दापनि गोरुको उद्धार संभव भएन । सबै निरास हुँदै फर्किए । अब के गर्ने ? एउटै आशा थियो । तुलसीपुरस्थित सशस्त्र प्रहरी बलको इकाईसंग सहयोग माग्ने ।
प्रहरी र स्थानीयले पुलमा अड्केको गोरुको उद्धार गर्न नसकेपछि तुलसीपुरस्थित सशस्त्र प्रहरी बललाई आग्रह गरे । शनिबार बिहान तुलसीपुरबाट सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक जयराम बस्नेतको नेतृत्वमा ९ जनाको टोली साढे ६ बजे नै घटनास्थल पुग्यो । साथमा इप्रका हेकुलीको प्रहरी टोलीपनि थियो । उक्त टोलीले सात बजेदेखि उद्धारको काम सुरु ग¥यो । पुलको झन्डै ३० देखि ४० मिटरको दुरीमा गोरु फसेको थियो । उनीहरुले पुल्ली लगाए ।
डोरीले गोरुलाई बाँधे । फलाम काट्ने उपकरणल गोरु छिर्ने गरि पुलको तल्लो भाग काटे । अनि चेन पुल्लीको सहयोगले बिस्तारै बिस्तारै गोरुलाई तल झारे । गोरु अड्केको ठिक मुन्तिर बगर थियो । २ घन्टा बढीको प्रयास पछि बिहान सवा ९ बजेतिर गोरु सकुशल बगरमा झारिएको थियो । त्यो क्षण निकै खुसीले भरिएको थियो ।
बबई नदीमाथि निर्मित उक्त झुलुङ्गे पुलले उत्तरको दंगीशरण– ४ बैबाङ गाउँ र दक्षिणको – १ नम्बर वडा रामपुरलाई जोड्ने गर्छ ।
जुन पुलमा हालसालैको बाढीले क्षति पु¥याएको छ । नदीको दक्षिण रामपुर तर्फको सपोट पिलरमा क्षति पुगेका कारण पुल पुरै कोल्टिएको छ ।
केही सपोर्ट लाठीहरु भाँचिएका छन् । त्यसैले संभावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै आवात जावात सामान्ने डोरीले बाँधेर बन्द गरिएको थियो । तर, टिकटक बनाउने युवा युवतिले अबरोधका लागि बाँधेका डोरीहरु फालिदिएका थिए । त्यही भएर गोरु असुरक्षित पुलमा फसेको थियो । अबदेखि भने पुलमा यात्रा गर्न पूर्ण रुपमा बन्द गर्ने सहमति भएको छ । प्रबेश द्धारको दुबै तर्फ तारले बन्द गर्ने निर्र्णय स्थानीय जनप्रतिनिधिले गरेका छ्न् ।