२०८२ मङ्सिर १९ गते शुक्रवार

८८ प्रतिशत जनता खानेपानीको पहुँचमाः मन्त्री मगर


दाङ, जेठ २३ ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले स्वच्छ खानेपानीलाई संविधानले नै मौलिक अधिकारको रुपमा उल्लेख गरेपनि त्यो पु¥याउन चुनौति रहेको बताएकी छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको जिल्लामा रहेका खानेपानी संस्था तथा समितिहरुको खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले संविधानमा उल्लेख गरिएका कुरा प्राप्त गर्न थुप्रै जनताले संघर्ष गर्नुपरेको बताएकी हुन् ।

अझैपनि ८८ प्रतिसत मात्रै जनताले खानेपानीको आधारभूत पहुँचमा रहेको मन्त्री मगरले बताइन् । उनले २० प्रतिसत जनतामा प्रशोधित पानीको पहुँच पु¥याउन सकिएको जानकारी दिइन । सन् २०३० सम्म प्रशोधित पानीको सुनिश्चितता आम नागरिकलाई पु¥याउनुपर्ने चुनौति रहेको मन्त्री मगरले बताइन् । एकातिर मौलिक अधिकारसँग जोडिएको छ र अर्कोतिर हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका थुप्रै सहमतिहरुलाई पूरा गर्नुपर्ने अवस्था रहेको मन्त्री मगरले बताइन् ।

उनले खानेपानीलाई अहिलेको संविधानले पनि मौलिक हकका रुपमा अथ्र्याएको भएपनि त्यो अनुरुप पानी पु¥याउन चुनौति रहेको बताइन् । खानेपानी संस्थाहरुले जनतालाई पानी पु¥याउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै उनले प्रशंसा गरिन । हरेक स्थानीय तहका प्रत्येक वडा–वडाको अवस्था कस्तो छ ? र त्यहाँका कति जनाताले खानेपानी पाइरहेका छन् भन्ने आयोजनाको विषयमा सघं र प्रदेश सरकारले रोडम्याप तय गर्न लागेको उनले जानकारी दिइन ।

खानेपानीको विकासका लागि मन्त्रालयले दाङलाई प्राथमिकतामा राखेर काम सुरु गरिरहेको तथा दाङको सवालमा आफ्नो ध्यानाकर्षण भएको उनले बताइन् । खानेपानीका लागि मन्त्रालयले दाङलाई मुख्य प्राथमिकतामा राखेर काम सुरु गरेको दाबी गरेकी मन्त्री मगरले बबईको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने र पातुखोलामा हाइड्याम निर्माणको लागि सर्भेको काम पनि गरिसकेको उनले बताइन् । स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालिन योजना बनाएर काम गरिने प्रतिबद्धता जाहेर गरिन ।

कार्यक्रममा नेकपाकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दाङ जिल्लामा खानेपानी र सिंचाईको लागि विगतमा भएका पानीका मुहान र स्रोतहरु सुक्दै गएको प्रति चिन्ता जाहेर गरिन । आज जनता घण्टौसम्म लाइन बसेर पानी खान बाध्य भएको तथा सिंचाईको अभावले खेतवारी त्यसै बाँझै रहेको हुँदा राज्य थप गम्भीर बन्नुपर्ने धारणा राखिन ।

उनले दाङका विभिन्न खहरे खोलाहरुमा ठूला हाइड्याम निर्माण गर्न सकेमात्रै फेरि पानी रिचार्ज गर्न सम्भव हुने बताइन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वलीले जिल्लाको खानेपानीका लागि स्थानीय सरकार र प्रदेश सरकार बढी जिम्मेवार बन्नुपर्ने बताइन् । यस वर्ष खानेपानीका लागी सरकारले ४३ अर्ब बजेट विनियोजन गरेको भन्दै उनले स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारी रुपमा लाग्नुपर्ने समेत धारणा राखिन ।

त्यस्तै उनले जिल्लामा पानीको लागि भकारी मानिने चुन ढुङ्गाको चर्को उत्खनन्ले गर्दा पानीको मुहानहरु सुक्दै गएको हुँदा अब सिमेन्ट उद्योगहरु खोल्न नहुने तर्क गरिन । ‘दाङमा धमाधम खुलेका सिमेन्ट उद्योगले यसको भविष्य समाप्त पार्न सक्छ’ वलीले भनिन् ‘अझैं यहाँ थुप्रै सिमेन्ट उद्योग खोल्नका लागि लाइसेन्स लिनेहरुको भिड छ ।

त्यो तत्काल रोकिनु पर्छ ।’ जिल्ला खानेपानी सञ्जालका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कायक्रमलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जिल्लाको खानेपानी समस्यालाई समाधान गर्न सरकारबाट योजना छनोट गरेर एक घर एक धारा उपलब्ध गराउन जरुरी रहेको तर्क गरे ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यलय घोराहीका प्रमुख गुणनिधि पोख्रेलले जिल्लाका २५ प्रतिशत जनतालाई आधारभूत खानेपानी सेवा दिन बाँकी रहेको बताए । उनले अबको ४ महिनापछि जिल्लाको कोइलावासका जनतालाई आधारभूत खानेपानी उपलब्ध गराउने गरी काम भइरहेको बताए । प्रदेश नं ५ का सासंद अमरबहादुर डाँगीले भने सरकारले केन्द्रिकृत मानसिकता त्याग्न नसक्दा खानेपानी पु¥याउन तथा विकास निर्माणका काम गर्न समस्या भइरहेको बताए ।

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेल, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली काँग्रेसका प्रतिनिधि जगतबहादुर खड्का, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, समाजवाद पार्टीका सुरेन्द्र चन्दलगायतले खोलानाला र पहाडहरुको दोहनले गर्दा पानीका मुहानहरु सुक्दै गएको हुँदा त्यो रोकिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नारायणपुर खानेपानी उपभोक्ता समिति, लालमटिया खानेपानी उपभोक्ता समिति र तकियापुर खानेपानी उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला खानेपानी सञ्जालका सचिव प्रदिप गौतमले गरेका हुन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *