छवि पुरी,
घोराही, जेठ २२ । त्रिभुवन नगर जेसीज दाङ र रोटरी क्लव अफ दाङको संयुक्त आयोजनामा घोराहीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । जेठ २४ र २५ गते दुई दिन हुने निशुल्क स्वास्थ्य शिविर बारे बुधवार घोराहीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा त्रिभुवन नगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी र रोटरी क्लव अफ दाङका कार्यबाहक अध्यक्ष डा. चेतनारायण पाण्डेयले व्यस्त दैनिक गुजार्दै आएका व्यक्ति र सर्वसाधारण नागरिकले स्वास्थ्य लाभ लिउन भनेर शिविर संचालन गर्न लागेको बताए ।
दुई संस्थाको सहकार्यमा हुन लागेको निशुल्क स्वास्थ्य शिविरमा मधुमेह, थाइराईड तथा हर्मोन सम्बन्धी विशेषज्ञ डा. अंशुमाली जोशीले स्वास्थ्य जाँच तथा परामर्श दिने जानकारी दिइएको छ । शिविरमा १० दिनसम्मका लागि निशुल्क औषधी वितरण, निशुल्क व्लड सुगर जाँच, ओम पोलिक्लिनिकमा ३ महिने सुगर एचबीएसी र थाइराईड जाँचमा ५०० रुपंैया बराबरको छुट प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
काठमाडौं डाइबिटिज एण्ड थाइराईड सेन्टर प्राली र अल्का हस्पिटलको प्राविधिक सहयोग तथा ओम पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्राली घोराहीको ल्याव सहयोगमा हुन लागेको शिविर त्रिभुवन नगर जेसीजको परिसरमा हुने जानकारी दिइएको छ ।