
तुलसीपुर, २२ जेठ ।
नेपाल शिक्षक सघं दाङका संस्थापक सदस्य एवं नेपाली काँग्रेसका क्रियाशील सदस्य विश्वराज पोख्रेलको १३औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाली काँग्रेस साविक विजौरी गाविसको आयोजनामा मंगलबार तुलसीपुर–१८ बिजौरीस्थित स्वर्गीय पोख्रेलको निवासमा श्रद्धाञ्जली सभा गरिएको हो ।
नेपाली काँग्रेस साविक बिजौरीका इकाई सभापति हिमबहादुर डाँगीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरतबहादुर न्यौपानेको प्रमुख आतिथ्यता एवं नेपाली काँग्रेस दाङका जिल्ला सदस्य श्यामकुमार रेग्मीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले पार्टीले एउटा कुशल संगठक, सालीन, समाजसेवी, शिक्षाप्रेमी व्यक्ति गुमाउँदा समाज, पार्टी पंक्ति र घरपरिवार स्तब्ध भएको बताए ।
उनले भने ‘स्वर्गीय पोख्रेलले देखाएको बाटोमा परिवार, समाज र पार्टी हिड्नसके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ ।’ यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि श्यामकुमार रेग्मीले स्वर्गीय पोख्रेलले समाज र पार्टीप्रति गरेको योगदान कहिले भुल्न नसकिने बताएका छन् ।
उक्त अवसरमा नेपाल विद्यार्थी संघ दाङका सचिव ऋषिश्वर न्यौपाने, विद्यार्थी नेता बिदुरराज गौतम, सुदय रामेश्वर शिवालयका अध्यक्ष एवं समाजसेवी श्रीधर मजगैयाँ, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्व अध्यक्ष भैरव मजगैयाँ, साक्षी खबर पत्रिकाका प्रधान सम्पादक सुनिलकुमार पोख्रेल लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन शंकर दिवस मजगैयाँले गरेका थिए भने सहजीकरण इकाई सचिव रविराज गौतमले गरेका थिए ।