२०८१ बैशाख १९ गते बुधवार

लुम्बिनी प्रदेशमा डेढ वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै

दाङ,बैशाख ३ । लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका ७ वटा विषयगत समितिको सभापति चयनका लागि ५ गते निर्वाचन हुने भएको छ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरी वैशाख ५ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिए।

सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितीको निर्वाचन हुन लागेको हो। जसका लागि भोलि ४ गते उम्मेदवारी दर्ता हुनेछ।

गत ३० असारको प्रदेश सभा बैठकले समितिमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितिको सभापतिको टुंगो भने अहिलेसम्म लाग्न सकेको थिएन।

निर्वाचनको तालिका सार्वजनिक भए पनि विषयगत समितिको नेतृत्व भने सहमतिमै टुंगिने नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बताइन्।

सचेतक गिरीका अनुसार नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि वन तथा वातावरण समिति, नेकपा एमालेले अर्थ उद्योग तथा पर्यटन समिति र भौतिक पूर्वाधार विकास समितिको नेतृत्व पाउने छ भने माओवादी केन्द्रले प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास समितिको नेतृत्व पाउने छ। बाँकी रहेको विशेष अधिकार समितिका बारेमा भने अहिलेसम्म कुनै टुंगो लागेको छैन।

भोलि ४ गते विषयगत समितिको नेतृत्वका लागि मनोनयन दर्ता गर्ने र ५ गते सहमतिमै नेतृत्व चयन हुने बताइएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *