२०८३ जेष्ठ ३१ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई …


तुलसीपुर (दाङ), जेठ १४ ।
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिकको हालसम्म ६८ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएको छ । नगरले हालसम्म गरेका कामहरु वारे मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले त्यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक बर्षको विनियोजित एक अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ बजेटमध्ये हालसम्म जम्मा ६८ प्रतिसत मात्रै बजेट खर्च भएको नगरप्रमुखले जानकारी दिएका हुन ।

तुलसीपुर नगरले अपेक्षा गरे अनुरुप राजस्व संकलन गर्न समेत नसेको नगरप्रमुखले बताए । यस बर्ष १४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म जम्मा ८ करोड ८ लाख ३६ हजार ७६ राजस्व संकलन भएको प्रमुख पाण्डेले बताए । उक्त राजस्व लक्ष्यको झन्डै ५७ प्रतिशत मात्रै हो ।

बढीमा चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै राजस्व संकलन हुन सक्ने अनुमान नगर प्रमुख पाण्डेले बताए । लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसक्नु, प्रदेश र केन्द्र सरकारबाट समेत भनेजति रकम नआउनु जस्ता कारणहरुले हालसम्म एक अरब ७ करोड ९२ लाख ९७ हजार दुईसय ७० जति मात्रै निकासा भएको नगरप्रमुख पाण्डेले बताए ।

निकासा भएको रकम मध्ये ८२ करोड ६६ लाख २८ हजार सात सय २१ रुपैयाँ खर्च खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । प्रतिसतका आधारमा हालसम्म ७७ प्रतिशत बजेट मात्रै खर्च भएको छ । त्यस्तै अन्य रकम योजना सम्पन्न भएर फच्र्यौट हुने क्रममा रहेको नगरप्रमुखले बताए । उनले बजेट फ्रिजको अबस्थालाई शून्यमा झार्ने लक्ष्यको नजिक पुगेको भने दाबी पनि गरे ।

तुलसीपुरमा बिनियोजन गरेका एक हजार चारसय ७६ योजनामध्ये एक हजार ८२ योजनाहरु सम्पन्न गरिसकेको जानकारी दिइएको छ । जसमा उपभोक्ता समितिका साथै टेण्डर प्रक्रियाबाट भएका योजनाहरु पनि रहेका छन् । अझैसम्म पनि तीनसय ९४ योजनाहरु सम्झौता हुन बाँकी रहेको नगरप्रमुखले बताए ।

पाण्डेले गौरवका योजनाहरुमा आधुनिक बस टर्मिनल भवनको निर्माण, अटो भिलेज निर्माण, तुलसीपुर ट्रेड टावरको डिपिआर र भवन डिजाइनको कामलाई उल्लेख गरेका छन् । तर कार्यक्रममा उपस्थित पत्रकारहरुले भने तुलसीपुरमा टावर भन्दापनि अस्पतालको अवस्था सुधार्न, शिक्षाको अवस्था सुधार्न, वाटोको अवस्था सुधार्न, खानेपानी र विजुली बत्तीको अवस्था सुधार्न आग्रह गरेका थिए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा झन्डै १५ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको छ । सडक कालोपत्रेको काम पनि लक्ष्य अनुरुप पूरा हुन सकेको नगरप्रमुखले स्वीकार गरे । २५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको उपमहानगरपालिको थियो ।

त्यस्तै तुलसीपुरमा ५१.६ प्रतिशत ग्राभेल सडक रहेको तथा कच्ची सडक ३९ किलोमिटर निर्माण गरिएको नगरप्रमुखले बताए । पाण्डेले प्रदेश सरकारसँग समन्वय गरेर चक्रपथ निर्माणको कामलाई अघि बढाउने लक्ष्य अनुरुप प्रदेश सरकारको तीन करोड लगानीमा राजापुदेखि राप्ती शान्ति उद्यानसम्म कालोपत्रेको काम शुरु भएको जानकारी दिए ।

यातायात क्षेत्रका लागि बृहत गुरुयोजना निर्माण भएको र नयाँ अर्थिक वर्षदेखि त्यही अनुरुप बजेट बिनियोजन गरेर अगाडि बढ्ने पाण्डेले बताए । पाण्डेले महत्व दिएर प्रस्तुत गरेको अर्को विषय सुत्केरीलाई प्रदान गरिएको भत्ता पनि एक थियो । यो अवधिसम्म दुईहजार सात सय २६ जना सुत्केरीलाई भत्ता वितरण गर्दा ८४ लाख बजेट खर्च भएको मेयरले बताए ।

उनले उज्यालो तुलसीपुरअन्तर्गत यस बर्ष एक सय १४ जनाको मोतिबिन्दुको निःशुल्क अप्रेशन गरिएको जानकारी दिए । उपमहानगरपालिका भित्रका आठवटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्नुका साथै एउटा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, ११ वटा नगर स्वास्थ्य केन्द्र र ६ वटा बर्थिङ सेन्टर स्थापना गरिएको, तीनवटा एम्बुलेन्स खरिद गरि बिभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको पाण्डेले बताए ।

सिंचाईअन्तर्गत चालुआर्थिक वर्षमा ४.७ किलोमिटर नहर निर्माण गर्नुका साथै ६ वटा स्यालो ट्यूवेल निर्माण गरिएको जानकारी दिइएको छ। थप ८ वटा डिप बोरिङको काम अघि बढेको पाण्डेले बताए । कार्यक्रमका सहभागीहरुले भने गफ दिए अनुसार काम नभएको, तुलसीपुरको दिगो विकासलाई ध्यान दिएर कामहरु सम्पादन गर्न ध्यान नदिएको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *