
यमकला भुसाल,
मुलकोट ,जेठ १२ । पर्यटकीय महत्व वोकेको एसियाकै दोस्रो ठूलो गुफाको चमेरे गुफा विकास र प्रचार प्रशारको अभावमा ओझेलमा पर्दै आएको छ । चमेरको गुफाको विकास र पर्यटन र प्रवद्र्धनमा राज्यले चासो नदिएको गुनासो स्थानीयले गरेका छन् ।
तुलसीपुर नगर जेसिसको आयोजनामा शनिवार त्यहाँ जेसिस सप्ताह समापन अन्तरगत आयोजित चमेरे गुफाको प्रर्वद्धन र विकास विषयक अन्तरक्रियालाई सम्वोधन गर्दै स्थानीयबासीले चमेरे गुफाको विकासमा कसैले चासो नदिएको गुनासो गरे ।
चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भुपबहादुर बुढाले चमेरे गुफा क्षेत्रको विकास कछुवा गतिमा भइरहेको भन्दै असन्तुष्टि पोखे । ‘ दुई वर्ष अगाडि निर्वाचनका क्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डेले ४ बर्षभित्रमा चमेरे गुफा पुग्ने बाटो कालोपत्रे गरिसक्ने वचन दिनु भएको थियो,तर, हालसम्मको विकासको गति हेर्दा सडक कालोपत्रे हुन अझैं ५० वर्ष लाग्ने निश्चित छ ।’ बुढाले बर्षेनी ४०देखि ५० मिटरको दरले सडक निर्माण गरिदै आएको भन्दै यहि गतिमा काम भए अबको ५० बर्ष पछि मात्रै कालोपत्रे सडक गुफाको नजिक आईपुग्ने हुँदा गुरु योजना बनाएर काम गर्न आग्रह गरे । ‘ मेयरले गफ मात्रै लगाउनु भयो,तर,त्यो अनुरुप यहाँ केहीपनि काम भएको छैन,’ बुढाले भने । उनले राप्ती राजमार्गवाट ४ किलोमिटरको दुरीमा रहेको चमेरे गुफा सम्मको सडक निर्माणको काम कछुवामा गतिमा भइरहेको प्रति असन्तुष्टि पोखे । यहाँ आएर निर्वाचनको समयमा एउटा केवुलकार, भ्यूटारवर,कालोपत्रे सडक, खानेपानीको प्रवन्ध गरिदिन्छु भनेर गफ लगाएका मेयर आजकल देखिन छोडेको बुढाले बताए । तुलसीपुर नगरका तत्कालिन कार्यकारी अधिकृत भरतराज शर्माको पालामा खोलिएको बाटोको ट्रयाक आजसम्म जस्ताको त्यस्तै रहेको भन्दै उनले आक्रोस पोखे । त्यस्तै स्थानीय सामुदायिक वनका अध्यक्ष कालिभान रोकाले पनि तुलसीपुरका मेयरको कामगर्ने सैलीलाई नियाल्दा आशा मरेको बताए ।

‘अब उहाँको कार्यकालमा यहाँ थप विकास हुन्छ भन्ने विश्वास जनताले गर्न छोडिसके,’ अध्यक्ष रोकाले थपे ‘ पहाड फोडेर धमाधम चुनढुङ्गाको उत्खनन् हुन थालेको छ । रुखहरु काट्ने क्रम बढेदै गएको छ । तर,त्यो रोक्न कसैले चासो दिएको छैन।’ त्यस्तै उनले मुलकोटको पानी लगेर तुलसीपुरले प्यास मेटाउँदै आएको भएपनि मुलकोटमा भने पानीको हाहाकार भएको उल्लेख गरे । ‘मेयरले छिट्टै यहाँको पानीको समस्या समाधान गर्छु भन्नु हुन्थ्यो, वडा अध्यक्षले पनि त्यही भन्नु हुन्थ्यो,तर अझैं काम भएको छैन,’ अध्यक्ष रोकाले भने ‘ गफ मात्रै धेरै भए तर काम कत्तिपनि भएन।’
अध्यक्ष रोकाले पनि चमेरे गुफाको विकासमा सरकारले चासो नदिएको बताए । स्थानीयको संवृद्धिको लागि आयआर्जन मुखी कुनैपिन कार्यक्रम स्थानीय सरकारले ल्याउन नसकेको उनले बताए । ‘एतिहासिक चमेरे गुफा भन्ने कुरा विश्वमै चर्चित छ,तर त्यहाँको विकास निमार्णमा उपमहानगरपालिकाले गर्नुपर्ने विकासका कामहरु अझै गर्न सकेन’, अध्यक्ष रोकाले भने ।
बाटो ३ मिटर मात्रै चौडा रहेको,विद्युत पोलहरु भाचिएर जोखिम बढेको,वडा अध्यक्षले पनि हुन्छ मात्रै भन्ने तर का मभने कहिलै नहुने गरेको घर्तीले गुनासो गरे ।
‘मुलकोटको पानी तुलसीपुरवासीले सहज रुपमा पिउन पाएका छन,तर यहाँका स्थानिय वासीले पिउने पानीको जोहो गर्न विहान ३ बजे उठ्नु पर्ने बाध्यता कायमै छ,’ घर्तीले भने ।
तुलसीपुर नगर जेसिस वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले चमेरे गुफाको विकासका लागि उपमहानगरपालिकाले थोरै थोरै भएपनि बजेट विनियोजन गर्दे आएको बताइन । उनले आगामी दिनहरुमा पनि त्यहाँको विकास र स्थानीयको जिविकोपार्जन सहज बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन । एकैपटक सबै विकास संभव नहुने भन्दै विस्तारै सबैसगं सहकार्य गर्दे यस क्षेत्रको विकास गर्ने उनले आश्वासन दिइन । ‘हामीलाई पनि गाह्रो छ, छिल्लीकोटको विकास गर्ने कि चमेरे गुफाको विकास गर्ने,’ उपमेयरले भनिन् ‘ यस्ता धेरै ठाउँहरु छन् हामी ती स्थानको विकास क्रमिक रुपमा गर्दै जाने छौं।’
कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा समिति सयोजंक देवराज विश्वकर्मा,कार्यपालिका सदस्यहरु अमर नेपाली, दिपक कुमाल,तुलसीपुर नगरजेसिसका पुर्व अध्यक्ष सुर्यप्रसाद शर्मा, नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्का, तुलसीपुर उद्योग वाणिज्य सघंकी सदस्य सपना बस्नेत,तुलसीपुर नगर जेसिसका बसन्त भण्डारी लगाएतले चमेरे गुफाको विकासमा राज्य थप गम्भीर हुनुपर्ने बताएका थिए । कार्यक्रम सयोजंक भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०१९ का महासचिव मोहन सुनारले गरेका थिए । जेठ २ गते सुरु भएको जेसिस सप्ताहमा शनिवार सकिएको छ ।