२०७७ कार्तिक ६ गते बिहिवार

लैङ्गीक समानता घरबाटैः न्यौपाने


घोराही, ७ जेठ ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले घरपरिवारबाटै लैङ्गीक समानता कायम गर्नुपर्नेमा जोड दिएकी छन् । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले मंगलबार रामपुरमा आयोजना गरेको लैङ्गीक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममा उपप्रमुख न्यौपानेले घरपरिवारबाटै विभेद हटाउनु पर्ने बताएकी हुन् ।

सामाजिक संस्कार, सोच, प्रवृत्ति, परम्पराका कारण अहिले पनि लैङ्गीक विभेद हुने गरेको भन्दै उनले सकारात्मक सोचको विकास र कुसंस्कार त्याग्नुपर्नेमा जोड दिइन् । राजनीतिक आन्दोलनले धेरै उपलब्धिहरु प्राप्त गरिएको भन्दै उनले अझै सामाजिक आन्दोलन आवश्यक रहने बताए । सम्मानका साथ घरदेखि समाजसम्म महिला र पुरुषले पहुँच राख्न सक्ने गराउन स्थानीय सरकारले विभिन्नखाले सचेतनामूलक जागरणका कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिइन् ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा र पत्रकार जेएन सागरले प्रशिक्षण दिदै महिला हिंसा अन्त्यका लागि शिक्षामा जोड दिए । साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरणतर्फ पनि स्थानीय सरकारले उत्प्रेरित गराउनुपर्नेमा सुझाव दिए । घरपरिवारबाटै समानताको अभियान चलाउनु सबैको दायित्व हुने भन्दै उनीहरुले विभेदलाई सहन नहुनेमा जोड दिदै न्याय र समानताका लागि बनेका कानुन कार्यान्वयनमा समेत जोड दिए ।

वडा अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, टोल विकास संस्था, अन्य सामाजिक संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *