दाङ, मंसिर ७ । नर्वेजियन जनताको संस्था एनएबिपीको सहयोगमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा सञ्चालित आँखा अस्पतालले दिइरहेको सेवाबारे स्थानीयस्तरीय परियोजना समितिको बैठक बुधवार सम्पन्न भयो । बैठकमा आँखा अस्पताल सञ्चालन गर्ने नेत्रज्योति संघका पदाधिकारीले अस्पताल सञ्चालन भएको ४० वर्षसम्म पनि सङ्घीय सरकारले खासै चासो नदिएकोमा गुनासो पोखे ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको स्थानीयस्तर परियोजना सल्लाहकार समितिको बैठकमा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल तुलसीपुर, लमही तथा छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले यति लामो समयसम्म एउटा गैरसरकारी संस्थाको सहयोगममा अस्पताल चलाउनु चुनौतीको विषय रहेको बताए ।
‘हामीले सङ्घीय सरकारलाई आँखा अस्पतालको अपनत्व लिन ४० वर्षसम्म बुझाउँदा पनि सहयोग पाउन सकिएन, चिकित्सक नपाएर अस्पताल चलाउन निकै कठिन छ, गुरुयोजना अनुरुपैैका धेरै काम अझै अधुरा छन्’, व्यवस्थापन समितिका अध्यक्ष गिरीले भने । मुलुकमा आँखा रोग विशेषज्ञ निकै कम भएको तर आँखाका बिरामी बर्सेनि बढिरहेको पनि उनले बताए ।
भौतिक निर्माण र मोतियाविन्दुको शल्यक्रियामा भने स्थानीय सरकारबाट अपेक्षित सहयोग प्राप्त भएको उनको अभिव्यक्ति थियो । दातृ निकाय एनएबिपीले यदि कुनै कारण सहयोग रोकेमा अस्पताल सञ्चालन चुनौतीपूर्ण रहेको उनको अभिव्यक्ति थियो । एनएबिपीले लगातार ४० वर्षदेखि आर्थिक सहयोग गर्दै आएको छ । अहिले पनि वार्षिक ३ करोड सशर्त सहयोग गर्दै आएको छ । यो सहयोगले भौतिक निर्माण भने गर्न पाइने छैन ।
परियोजना सल्लाहकार समितिको बैठकमा तीनवटै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले बैठकमा तीनवटै अस्पतालबाट यो अवधिसम्म गरिएका ओपिडी सेवा तथा शल्यक्रिया सेवाका विषयमा जानकारी गराएका थिए । नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रशासकीय अधिकृत थापाले बैठकमा ८ वटा एजेण्डा प्रस्तुत गरेका थिए । उनले आयोजनाबारे छोटो परिचय, परियोजनाले राखेका लक्ष्य र उपलब्धि, परियोजनाको वार्षिक बजेट, परियोजनालाई दिगो बनाउन आवश्यक कम्पोनेन्ट, परियोजनामा जोडिएका पक्ष, परियोजनाका चुनौती तथा सल्लाहकार समितिका सल्लाह सुझावका विषयमा सुझाएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले आँखा स्वास्थ्य एउटा गम्भीर विषय भएकाले यसमा दातृ निकाय एनएबिपीको चार दशकसम्मको सहयोगको उच्च प्रशंसा गर्दै यसलाई थप निरन्तरता दिन पनि आग्रह गरे । साथै आँखा उपचार सेवाका लागि स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताए । सो अवसरमा उनले आँखा अस्पतालको स्तर वृद्धि, थप विशेषज्ञ सेवा प्रवाह तथा भौतिक निर्माणमा सहयोगका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने बताए ।
सल्लाहकार समितिकोे बैठकमा जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित तीनवटै अस्पतालले दिइरहेको आँखा उपचार सेवाप्रति खुसी व्यक्त गर्दै जिल्ला समन्वय समिति र जिल्ला समितिको कार्यालयले थप विशेषज्ञ सेवाप्रति सम्बन्धित निकायमा समन्वय सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, एनएबिपी परियोजना नेपालका प्रतिनिधि तथा लेखा अधिकृत रमेश पोख्रोल, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, जुनकुमारी बुढा, सरस्वती नेपाली, हरिदेवी पोख्रेल, राप्ती आँखा अस्पतालका प्रशासक शालिकराम गौतम, लमही अस्पतालका प्रशासनिक समितिका प्रमुख लीला शाह, छन्दकालेबाबु नारायणी आँखा अस्पताल प्रशासनिक समितिका प्रमुख तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीलगायतले सल्लाह सुझाव दिएका थिए ।
मध्य र सुदूरपश्चिम क्षेत्रमा आँखाका बिरामी तथा अन्धोपनाको समस्या व्यापक भएसँगै डा रामप्रसाद पोख्रेल र नर्वेजियन नागरिक डा अल्वर्ट कोलस्टर्डको प्रयासले यी क्षेत्रमा आँखा उपचार सेवाको सुुरुआत भएको थियो । नेपाल नेत्रज्योति संघ दाङ शाखाको स्थापना २०४१ सालमा भई आजसम्म नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवम् बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना, सचेतना र नेत्र सहायकको उत्पादन गरिरहेको छ । अब एचए र फार्मेसीको पढाइका लागि स्वीकृति लिने काम अन्तिम चरणमा पुगेको छ भने लमहीमा आँखा उपचारसँगै नाक, कान, घाँटी तथा जनरल फिजिसियन सेवा समेत सुरु भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल, लमही आँखा अस्पताल र लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला जस्तै कपिलवस्तु, दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम र कर्णाली प्रदेश अन्तर्गतका जिल्ला सल्यान, पश्चिम रुकुममा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम आदि सेवा सञ्चालन गर्दै आइरहेको छ ।
यसले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मूल नारालाई साकार पार्न स्थानीय पालिकासँगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न प्रत्येक पालिकामा एउटा एकीकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत आँखा उपचार केन्द्रहरू पनि विस्तार गदै आइएको छ । नागरिकले मोतियाविन्दुका कारण दृष्टिविहीन जीवन यापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहसँग निःशुल्क मोतिबिन्दुको शल्यक्रियाका लागि सम्झौता गरेर अगाडि बढेको छ । हालसम्म तीनवटै अस्पतालममा गरी करिब ३४ लाख ५ हजार बढीलाई सेवा दिइसकेको छ । जसमा ४ लाख ९१ हजारलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ भने यो अवधिमा २ लाख १२ हजारको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान अस्पतालले गरिसकेको छ ।
अस्पतालले सामान्य चिकित्सा सेवा मात्र नभएर अहिले अकुलोप्लाष्टि सेवा, रेटिना, कोर्निया र प्याडियाट्रिक ९बालबालिकालाई शल्यक्रिया समेत प्रदान गर्न सुरु गरेको छ । जलविन्दुको उपचारका लागि समेत विशेषज्ञ चिकित्सक र भौतिक पूर्वाधारमा अस्पतालले पहल थालेको पनि परियोजना सल्लाहकार समितिको बैठकमा जानकारी गराइएको थियो । बैठकको सहजीकरण राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल तथा छन्दकालेबाबु आँखा अस्पताल बहादुरगञ्जका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।