सुशील बस्नेत
दाङ, बैशाख १७ ।
छोरीको मलद्वारको शल्यक्रिया गर्न झण्डै चार लाख रुपैयाँ जुटाउन तुलसीपुरका शिवहरी योगी र श्रीमती लक्ष्मी कँवर योगी सञ्चार गृहको सहरा लिन शुरु गरेका छन् । मलद्वार प्राकृतिक रुपमा हुनुपर्ने स्थानमा नभएकोले ८ बर्षिया छोरी रवीनालाई साथमा लिई आर्थिक सहयोग जुटाउन सञ्चार गृहको सहारा लिन शुरु गरेका छन् ।
कक्षा २ मा अध्ययनरत रविना, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ कृष्ण मन्दिर नजिकै घरमा बुवाआमा, दाजुसँगै बस्दै आएकी छन् । दिदी नविनाको विहे भने भईसकेको रविनाले बताइन् । २०६७ साल फागुन १० गते तत्कालीन राप्ती अञ्चल अस्पतालमा जन्मेकी रविनाको आमाले रविनाको मलद्वार नभएको तीन दिनपछि जानकारी पाएका थिए ।
भतिजी धेरै रोईरहेको देखेपछि रवीनाको फुपुले दिसा गर्न समस्या भएको कारण थाहा पाएकी थिइन् । त्यसपछि राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका योगी परिवारलाई अस्पतालले नेपालगंज नर्सिङ होममा जान सुझाव दिएको थियो । सातदिने रविनाको नर्सिङ होम नेपालगंजका चिकित्सकहरुले देव्रेपट्टिको कोखामा शल्यक्रियाबाट प्वाल बनाई दिसा गर्ने बाटो बनाएका छन् ।
अहिले पनि सोही प्वालबाट दिसा गर्ने गरेको रविनाले बताइन् । नर्सिङ होम नेपालगंजका चिकित्सकले कान्ति बाल अस्पतालमा जान सुझाएपछि रविनालाई लिएर बुवा शिवहरि र आमा लक्ष्मी काठमाडौँ गएका थिए । तर पहँुच र पैसा नभएका कारण प्रभावकारी सेवा पाउन नसकेको श्रीमान शिवहरि र श्रीमती लक्ष्मीको गुनासो छ ।
१० कठ्ठा जग्गामध्ये छोरी रविनाको मलद्वार प्राकृतिक स्थानमा शल्यक्रियामार्फत गराउन खर्च गर्दागर्दै पाँच कठ्ठा जग्गा बिक्री गरिसकेको तर अझै छोरीको उपचार हुन नसकेको उनीहरुले दुखेसो सुनाए । छोरी रविना पनि जान्ने बुझ्ने भई सकिन् । साथी, समाजले आश्चर्य प्रकट गर्ने गरेकाले लाज मान्ने भई सकेकाले झण्डै चार लाख रकम संकलन गर्नसके कृत्रिम बाटोलाई बन्द गरी प्राकृतिक स्थानमा शल्यक्रियामार्फत दिसा गर्न सक्ने बनाउने प्रयत्नमा जुटेको शिवहरिका परिवारले बताएको छ ।
शिवहरिका परिवारले छोरी रविनाको उपचारका लागि आर्थिक सहयोग गरिदिन पनि सबैलाई आग्रह गरेका छन् । उनले आर्थिक सहयोगको चाहना राख्नुहुने ब्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतका लागि मोवाईल नम्वर ९८०६२२४४०७ मा सम्पर्क गर्न पनि अपिल गरेका छन् ।