२०८१ असोज ४ गते शुक्रवार

अनेरास्ववियुले क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुने


दाङ, बैशाख १० ।
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु र क्रान्तिकारीले तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै ताला लगाएर थुनेको छन् । मंगलबार बिहान ९ बजेतिर अनेरास्ववियुले क्याम्पस प्रमुख युवराज रावत (प्रकाश)लाई कार्यकक्षमै ताला लगाएर थुनेको हो ।

साढे ९ बजेतिर ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले ताला फोडेर क्याम्पस प्रमुखदलाई बाहिर निकालेको थियो । अनेरास्ववियु दाङका अध्यक्ष विरबल खड्काले आफूहरुले राखेका मागहरुको सुनुवाई नभएको हुँदा क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै थुन्नु परेको जानकारी दिए । क्याम्पस प्रमुखलाई कार्यकक्षमा ताला लगाउन एकजना जनप्रतिनिधि पनि गएका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य तथा अनेरास्ववियुका जिल्ला सदस्य दुजमान भण्डारी पनि क्याम्पस प्रमुखलाई ताला लगाउने कार्यको नेतृत्व गरेको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष खड्काले पनि भण्डारीको नेतृत्वमा ताला लगाइएको बताए । तर भण्डारीले भने त्यो अस्विकार गरे ।

‘के हामी क्याम्पस जान नपाउने हो र ?’ भण्डारीले भने ‘क्याम्पस जाँदैमा ताला लगाउन नेतृत्व ग¥यो भन्नु सही हैन ।’ अनेरास्ववियु राप्ती बबई क्याम्पसका तर्फबाट कार्यबाहक अध्यक्ष गंगाराम डाँगी, सचिव राजन केसी, प्रकाश रावत र क्रान्तिकारीका अध्यक्ष प्रकाश वलीले सोमबार मात्रै २४ घन्टे अल्टिमेटमसहितको ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाएका थिए ।

त्यसमा मुख्यगरी शैक्षिक सुधारको माग गरिएको छ । उनीहरुको मागमा राजनीतिक सहमति पूरा गर्नुपर्ने भन्ने माग पनि छ । त्यसको अर्थ सहायक क्याम्पस प्रमुख नेकपाको हुनुपर्ने भन्ने माग उनीहरुले गरेको क्याम्पस प्रमुख रावतले बताए । ‘उहाँहरुको उद्देश्य भनेको जोरजबरजस्ती गर्ने भन्ने हो, तर म क्याम्पसको नीति, विधि र विधान विपरीत जान सक्दैन’ प्रमुख रावतले भने ।

उनी क्याम्पस प्रमुख भएको महिना दिन पनि पुगेको छैन । आफू क्याम्पस प्रमुखको रुपमा आएदेखि नै सुधारको कामहरु गर्दै आएको र शैक्षिक सुधारलगायतका जायज मागहरु पूरा गर्न कै लागि आफू आएको उनले बताए । क्याम्पस प्रमुख रावतले ताला लगाउँदैमा र थुन्दैमा आफू विचलित नहुने दृढता व्यक्त गरे ।

यसैबीच क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले वार्ता र संवादमार्फत समस्या समाधान गर्न तथा माग सम्बोधन गर्न सहज हुने भन्दै वार्तामा आउन आग्रह गरेका छन् । ‘क्याम्पस प्रमुखसँग केही सहमति भएको भए त्यो हामीलाई जानकारी छैन’ केसीले भने ‘तर सञ्चालक समितिसँगै कुनैपनि लिखित र मौखिकरुपमा राजनीतिक सहमति भएको छैन ।’ उनले क्याम्पसको तालाबन्दी गरेर पढ्न पाउने विद्यार्थीको अधिकारमाथि खेलवाड नगर्न आग्रह पनि गरे ।

यसैबीच मानव अधिकार तथा शान्ति समाजका दाङ शाखा सभापति शरद रेग्मीले पनि क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुन्नुले मानवअधिकारको ठाडो उल्लंघन भएको तर्क गरे । ‘ताला लगाउनु थियो भनेपनि क्याम्पस प्रमुखलाई बाहिर निकालेर लगाउनु पर्ने थियो’ रेग्मीले भने ‘कार्यकक्ष मै ताला लगाउने जस्ता घृणित कार्य विद्यार्थी संगठनलाई सुहाउने कुरा होइन ।’

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *