दाङ,फागुन ६। दाङमा पटक–पटक हात्तीपाइले रोग रोकथामका औषधि खुवाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन भएपनि उद्देश्य हासिल हुन नसकेपछि पुनः यो अभियान सञ्चालन गरिने भएको छ ।
यसअघि जिल्लामा १२ औँ पटकसम्म हात्तीपाइलेको औषधि खुवाइ सकिएको भए पनि उपलब्धि नदेखिएपछि जिल्ला यो अभियान पुनः सञ्चालन गरिने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका ६ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको छ ।
स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तरगत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तरक्रियामा अभियानअन्तर्गत दाङमा फागुन ११ गतेदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु हुने जानकारी गराएको हो ।
पटक-पटक हात्तीपाइले निवारणका लागि अभियान चलाएपनि रोग निवारण नभएपछि १३ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यालयले जनाएको छ ।
फागुन ११ गतेबाट जिल्लाभर हात्तीपाइले विरुद्धको औषधि खुवाइने हुँदा औषधि खाएर हात्तीपाइले निवारण अभियानमा साथ दिन जिल्ला स्वास्थ्य कार्य निमित्त कार्यालय प्रमुख डम्मर कुवँरलले आग्रह गरेका छन् ।
२ वर्षमा हात्तीपाइले निवारणको लक्ष्य लिएकाले हात्तीपाइले विरुद्धको औषधि खाएर ढुक्क हुन उनले आग्रह गरे । हात्तीपाइले विरुद्धको औषधिबारे आएका गलत सूचनाको पछि नलाग्न आग्रह गर्दै निमित्त प्रमुख कुवँरलले यसबारे देखिएका भ्रम चिर्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।
संचार माध्यममा आएका खबर तथा सूचनाहरु जनताले विश्वास गर्ने भएकाले हात्तीपाइले रोग, यसका असर, यस विरुद्धको औषधि र यो रोग निवारणको बारेमा जनतालाई स्पष्ट जानकारी दिँदै औषधि खानका लागि प्रेरित गर्नुपर्ने उनले बताए ।
सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गरे ।
आगामि सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा दाङ अहिलेसम्म पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको उल्लेख गरे ।
हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले कभरेज ८० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेमा आगामि थप दुई वर्ष आम औषधी सेवन अभियान थप्नुपर्ने हुँदा अबका दिनमा सबैसजग हुनुपर्ने बेला भएको बताए ।
गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताए ।
फोकल पर्सन चन्दले हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिनसक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिए ।
यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान उनको आग्रह छ ।
जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको छ ।
सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ ।
सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।
विगत १२ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेको छ ।
क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट यो रोगमान्छेमा सर्ने हुँदा रोगलागेपछि शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनिएको हो ।
नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
दाङमा हात्तीपाइलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ । हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुवँरले बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको अधिकारका लागि खबरदारी गर्ने मिडियाले स्वास्थ्य क्षेत्रको गम्भीरतालाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिने बताए ।
मानव स्वास्थ्यको सुधारका लागि मिडियाले हिजोका दिनदेखि नै वकालत गर्दै आएको हुँदा सरकारले थालेको नागरिक स्वास्थ्यको कार्यक्रमलाई सबैको साथ रहने विश्वास बताएका हुन ।
कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले हात्तीपाइले रोग निवारण गर्न थालिएको अभियान नखुवाएर भन्दा नखाएर समस्या थपिएको हुन सक्ने हुँदा अबको दिनमा औषधी खाने गरी अभियानलाई जोड्न आग्रह गरे ।
नेपाल पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले जिल्लामा अभियानलाई सफल बनाउन सवैको साथ र सहयोग हुने बताए ।
कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका बामदेव शर्माले गरेका थिए ।