२०८१ बैशाख ६ गते बिहिवार

घोराही उपमहानगरले १७ हात भन्दा कम मोहडा भएका घडेरी बनाउन नदिने


घोराही, २७ फागुन
घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा कित्ताकाट गर्दा ८ मिटर मोहडा र ८ धुरको क्षेत्रफल कामय हुने गरी घडेरीको मापदण्ड निर्धारण गरेको छ । नगर कार्यपालिकाको ४९औँ बैठकले १७ हातभन्दा तलका घडेरी कित्ताकाट नहुने गरी मापदण्ड निर्धारण गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कुनै मापदण्ड बिनै घडेरीहरु निर्माण भैरहेको अवस्थामा उपमहानगरले घडेरीको कित्ताकाटमा मापदण्ड निर्धारण गरेको हो ।

तर, यसभन्दा पहिले कित्ताकाट भै कायम भएका घडेरीहरुका लागि यो व्यवस्था लागू हुने छैन । बैठकले घोराही उपमहानगरपालिका क्षेत्रमा चक्रपथ निर्माण योजना कार्यान्वयनको लागि वडा नम्बर ११ को गणेशपुरदेखि मज्गै हुँदै वडा नम्बर ९ को बुकाली डाँडा, एकलघरुवा, कर्मटिया, मछाई, आन्द्रभरैया, वडा नम्बर ५ को धर्ना, दामोदर रोड, धारापानी, वडा नम्बर ३ को कुइरेपानी, वडा नम्बर २ को बलामपुरबाट नदीपारी हुँदै वडा नम्बर १ सिमलतारा, विपी मार्ग, वडा नम्बर ४ को लक्ष्मीपुर चोकलाई जोड्ने निर्णय गरेको छ ।

त्यसैगरी वडा नम्बर ४ को स्यालापानी, बसन्तपुर, चुक्लेपाटा वडा नम्बर १७ पालुथान, मदन भण्डारी मार्ग, डबरी हुँदै वडा नम्बर १८ को अम्बापुर, बाँसपोखरी, मसिना, गिठेपानी, रानीजरुवा, वडा नम्बर १३ बाह्रकुने हुँदै वडा नम्बर १२ आँखा अस्पताल रोड हुँदै गणेशपुर छुने गरी चक्रपथ निर्माण गर्ने गरी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ ।

साथै बैठकले ५ नम्बर प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको एकीकृत नमुनाबस्ती विकास कार्यक्रम उपमहानगरपालिकाको वडा नम्बर १७ को क्वाङ्गी पर्चुखामा गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *