दाङ, १० फागुन ।
प्रदेश नम्वर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परेका सांसद वलीको काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए ।
नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद ओलीलाई शुक्रबार बिहान मृत घोषणा गरिएको छ ।
घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिदा दुर्घटना भएको थियो । सांसद ओलीको टाउँकोमा, हातमा, खुट्टामा गम्भीर चोट लागेको थियो ।
सांसद ओली आफैले कार चलाएका थिए । दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद ओली गत बर्ष भएको प्रदेश सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३(२) बाट निर्वाचित भएका हुन् । उक्त दुर्घटनामा परी बसमा सवार रुकुम घर भएकी अन्दाजी २७ वर्षिया रमिता शर्माको पनि मृत्यु भएको थियो ।