बाँके, असार ३१ । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो ।
नेपाल सरकारको निर्णय नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने नीति तथा साक्षर नेपाल वर्ष २०७६ अवधारणा अनुसार गाउँपालिका ६ वटैसंगै साक्षर गाउँपालिका घोषणा भएको हो ।
विहीबार एक समारोहका बीच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले घोषणा गर्दै बाँके जिल्लाका ८ वटै पालिका साक्षर घोषणा भइसकेकाले अब दुई तीन दिनभित्रै जिल्लालाई नै साक्षर घोषणाको तयारी भइरहेको जानकारी दिए ।
सभामा बोल्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा जिल्लामै पहिलो पालिका भइसकेकोले यो वर्षदेखि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
गाउँपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२५ प्रतिशत जनसंख्या साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए ।
विक्रम सम्मत २०७५ सालको सर्भेक्षण अनुसार पालिकाको कुल जनसंख्या ४५ हजार १९ मा १५ देखि ६० वर्ष उमेर समुहका २६ हजार १० जनामध्ये १५ हजार ६२४ जना पहिलै नै साक्षर रहेको र १० हजार २ सय ८९ जना निरक्षर रहेकोमा हाल ९ हजार ९०३ जना साक्षर भएको तथ्याक प्रतिबेदनमा उल्लेख छ ।
तथ्याक अनुसार ९ हजार ९०३ मध्य ४ हजार ३ सय ६२ जना पुरुष र ५ हजार ५ सय ४१ जना महिला साक्षर भएको शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताए ।
गाउँपालिकाको वडा नं. १ मा ९५.८ प्रतिशत, २ मा ९५.११ प्रतिशत, ३ मा ९६.९० प्रतिशत, ४ मा ९६.०८ प्रतिशत, ५ मा ९६.०८ प्रतिशत र ६ मा ९.५३ प्रतिशत नागरिक साक्षर रहेको प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
तथ्याक अनुसार सबै भन्दा बढी साक्षर प्रतिशत वडा नंं ६ मा रहेका छन भने साक्षर प्रतिशत कम भएको वडा नं. १ हो ।