तुलसीपुर,जेठ ८ । दाङको तुलसीपुरमा ४० हजार मतगणना हुदाँ ९ हजार बढी मत बदर भेटिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका अनुसार हालसम्म तुलसीपुर उपमहानगरपालिका भित्रका वडा नं. १,२,३,४,५,६,७,८,९,१० को मत गणना गर्दा कुल ९ हजार ६७२ मत बदर भेटिएको हो ।
जसमध्ये मेयरमा ३ हजार ८ सय ९० र उपमेयरमा ५ हजार ७ सय ८२ मत बदर भेटिएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा वढी वडा न. ५ मा धेरै ९ सय ६ मत बदर भएको भेटिएको छ । ३ हजार ७ सय ४१ मत खसेको उक्त वडामा ९ सय ६ मत बदर भएको हो । अधिकृत अर्यालले बदर भएको उक्त मत उपमेयर पदको मात्र रहेको बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा न.४ मा कुल ४ हजार १ सय ७७ मत खसेको थियो । उक्त वडामा ८ सय ६१ मत बदर भएको छ । त्यस्तै वडा न. १ मा ३ सय ९६ र वडा न. २ मा ३ सय ६४ मत बदर भएको अर्यालले जानकारी दिए ।
यो चुनावमा धेरै दलको गठबन्धन भयो, एउटै पदमा धेरै छाप लगाएकोले धेरै मत बदर हुन गएको हो,उनले भने,‘ यसमा क्रस गरेर मतदान गर्न खोज्दा अत्याधिक रुपमा यो समस्या देखिएको हो ।
अर्यालका अनुसार तुलसीपुरमा कुल ७४ हजार ३ सय ३६ मत खसेको थियो । अब झण्डै ३४ हजार मत गणना हुन बाँकी छ ।
घोराहीमा १३ सय ५४ मत पूर्ण बदर
घोराही उपमहानगरपालिकामा १ हजार ३ सय ५४ मत पूर्ण बदर भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार घोराही मेयरमा १० हजार ४ सय ४ र उपमेयरमा १० हजार ८३ मत आंशिक बदर भएको हो ।
कुल ११ लाख २९ हजार २७ मतदाता रहेको घोराही उपमहानगरपालिकामा ७६ हजार ५२१ मत खसेको थियो ।