घोराही, चैत ५ । गौरवशाली हिन्दु राष्ट्र नेपालको मुल नारा सहित ‘घर घरमा जाऔं, आफुनो धर्म आफै बचाऔं,’ धर्म– निरपेक्षतालाई डाँडो कटाऔं, हिन्दु राष्ट्र पुन लेखाऔं’ भन्ने अभियान देशव्यापी रुपमा सुरु भएको छ ।
यही अभियानको जानकारी दिनका लागि घोराहीमा शनिबार हिन्दु धर्म सभाको आयोजना गरिएको छ ।
काठमाडौमा भएको धार्मिक अभियन्ताहरुको बृहत मन्थनपछि अभियानलाई केन्द्रदेखि पालिकासम्मै लग्ने र हरेक जिल्लामा हिन्दु सम्मेलनको आयोजना गरी राज्यलाई हिन्दु राज्य घोषणा गर्नका लागि नागरिक दवाव सृजना गर्ने उदेश्यले यो धार्मिक सभा सुरु भएको आयोजकले बताएका छन् ।
अभियानलाइ सार्थक बनाउन र मुलुकभर फैलाउन जिल्लास्तरिय भेला, पालिकास्तरिय भेला र वडा स्तरिय भेलाको आयोजना गरी सवै क्षेत्रलाई संगठित बनाएर राजनीतिको मुल प्रवाहमा अभियानका विषयलाई लैजाने जानकारी दिइएको छ ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक तुलसी घिमिरेले बालबालिकालाई संस्कार बुझाउनु पर्ने बताए । हिन्दू धर्मको संरक्षणका लागि हिन्दू संस्कार संस्कृतिको अर्थ नयाँ पिढिंलाई बुझाउन जरुरी रहेको उनले जोड दिए ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको ‘प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्य परिचय कार्यक्रम’लाई सम्बोधन गर्दै घिमिरेले हिन्दू धर्म स्थापनाको लागि हिन्दू धर्मको महत्व बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख घिमिरेले हाम्रा संस्कार संस्कृतिसँग जोडिएको अर्थ र महत्व बुझाउन जरुरी रहेको बताए ।
उनले भने, ‘दसै, तिहार लगायतका पर्वसँग जोडिएका महत्वलाई अबको नयाँ पीढिलाई सिकाऔँ, हाम्रा संस्कार संस्कृतिसँग जोडिएका महत्व आफैमा वैज्ञानिक छन् । यही महत्वले हाम्रो हिन्दूत्वको संरक्षण गर्छ । नेपालमा रहेका हिन्दूहरुले एकै पटक हिन्दूत्वको नारा लगाउने हो भने धर्म निरपेक्षता आफै भाग्दछ । यसका लागि एकता र इच्छाशक्ति आवश्यक छ ।’
होटेल मालाइनमा भएको कार्यत्र mममा राजनीतिक आस्था नभएर धार्मिक आस्था बोकेका सयौं सहभागीले ध्यानमग्न भएर कार्यक्रमको औचित्यलाई ग्रहण गरेका थिए ।
स्कूले विद्यार्थीदेखि अध्यापक र साहित्यकारहरुको बाक्लो उपस्थितिले समारोह स्थललाई एउटा भव्य धार्मिक सभाको रुपमा चित्रण गर्दथ्यो ।
कार्यक्रमको जानकारी दिैदै हिन्दु स्वयंसेवक दाङका संघ चालक किशोरचन्द्र गौतमले धर्म निरपेक्षता सँगै हिन्दूको अस्तित्व समाप्त हुन थालेकोले अस्तित्व बचाउने दायित्वबोध गर्ने बेला आएका बताएका थिए ।
‘ हाम्रो अस्तित्व संरक्षणको जिम्मा हाम्रो काँधमा आएको छ, अस्तित्व संरक्षणका लागि अब हिन्दू राष्ट्र स्थापना गर्न आवश्यक छ,’ उनले भने – ‘हिन्दू राज्य स्थापनाका निम्ति योजनावद्ध क्रियाकलापको आवश्यक रहेको छ । अब योजनावद्ध क्रियाकलापका आधारहरु स्थापना गरौँ, हिन्दू राज्य असम्भव छैन ।’
संघ चालक गौतमले अब आवश्यक विषय प्रति गम्भीर हुन जरूरी रहेका बताए । धर्म निरपेक्ष जवरजस्ति लादिएको बताउँदै नेताहरूको सत्तामोह र सत्ता दिलाई दिने विदेशीको चलखेलले हिन्दू धर्म संकटमा परेको पनि बताए ।
अबको समयको माग, युगको माग हिन्दू धर्म बचाउनु रहेकोले अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रमलाई संघका प्रचारक विपुल दाहाल, संघका काठमाडौँ विभागका कार्यवाहक तुल्सी न्यौपाने, नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य लगायतले सम्बोधन गरेका थिए ।
अभियानका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियन्ता डिल्ली पण्डितले स्वागत मन्तव्य राखेका थिए कार्यक्रमको सहजीकरण अभियन्ता शरदकुमार शर्माले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका छात्राछात्राले पनि आ–आफ्ना धार्मिक प्रस्तुती देखाएका थिए ।
नेपालमा कुल जनसंख्याको कम्तिमा ८८ प्रतिसत भन्दा बढी हिस्सा हिन्दु धर्मावलम्बिहरुले ओगटेको जनगणनाको तथ्यांकलेनै स्पष्ट पारेको छ ।
यति हुँदाहुंदै पनि सरकारले संविधान जारी गर्दा नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेकोमा हिन्दु धर्मका अभियन्ताहरुको व्यापक असन्तुष्टि छ ।
त्यससंगै पछिल्लो समयमा हिन्दु राज्यको अवधारणा नै समाप्त पार्ने विभिन्न षडयन्त्र समेत हुन थालेका उनीहरुको चिन्ता छ ।
शिक्षा, स्वास्थ्य लगायत विभिन्न सेवाका नाममा धर्म प्रचार गर्ने र गराउन विवश पार्ने शक्तिहरुले पनि मुलुकका दुर्गम दुर्गम बस्तिदेखि सांसदका घर घरसम्म आर्थिक प्रलोभनका घटनाहरु एक पछि अर्को गर्दै दोहो¥याइरहेका छन् । जसले पुरातन हिन्दु धर्मको अस्तित्वनै संकटमा पार्न खोजिएको कार्यक्रमका बक्ताहरुले चिन्ता ब्यक्त गरेका थिए ।