
तुलसीपुर, चैत २ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले मुलुकमा मधुवनको जस्तै शान्ति र विकाश ल्याउनका लागि नेपाली काँग्रेसलाई बिजयी बनाउन आग्रह गरेका छन् ।
बुधबार दाङको तुलसीपुरमा नेपाली काँग्रेस क्षेत्र नं. ३ ले आयोजना गरेको घर घरमा जाऔं काँग्रेस जिताउँ अभियानलाई सम्बोधन गर्दै दाङका लागि केन्द्रीय प्रतिनिधि समेत रहेका केसीले आर्यघाटको जस्तो शान्ति नभइ मधुवनको जस्तो शान्ति चाहाने हो भने नेपाली काँग्रेसलाई बिजयी बनाउन आग्रह गरे ।
‘मुलुकको विकाश र निकाशको लागि मात्रै होइन,’ नेता केसीले भने ‘ मुलुकमा काँग्रेसले अबलम्बन गरेको समाजको धारलाई समाउनका लागि र जीवन स्तर माथि उठाउनका लागि काँग्रेसलाई बिजयी बनाउन आवश्यक छ ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले मेलम्ची, सुरुङ मार्ग, भैरहवा विमानस्थल लगाएतमा बिभिन्न मुलुकबाट एक प्रतिसतदेखि तीन प्रतिसतसम्म ब्याज दरमा नेपालले ऋण लिएर काम गरेको र त्यस्तो चाइनीज ऋणको बारेमा कम्युनिष्टहरु केही नबोल्नु तर एमसिसीको मात्रै बिरोध गर्नु ढोंग भएको बताए ।
‘ब्याजमा ऋण चीनबाट समेत लिएर नेपालले बिभिन्न बिकासका कामहरु गरिरहेको भएपनि कम्युनिष्टहरु त्यसबारे केही बोल्दैनन् र बरु त्यसबारे खुसी ब्यक्त गर्छन,’ केन्द्रीय सदस्य गिरीले भने ‘ तर, अमेरिकाले बिना ब्याजमा नेपालको आग्रह बमोजिम बिकाशको लागि दिएको अनुदानको बिरोध गर्नु भनेको कम्युनिष्टहरु बिद्रोह नगरी राजनीति गर्न सक्दैनन् भन्ने छर्लंग हुनु हो।’
त्यस्तै काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले केपी ओली नेतृत्वको पालमा भएका ठूला–ठूला भ्रष्टचारका बारेमा गाउँ घरमा गएर भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरे ।
‘केपीको संरक्षणमा हाइटबडी, बालुवाटार जग्गामा एमाले नेताहरुको रजाईहरुको भण्डाफोर गर्नुहोस,’ खनालले भने ‘ देश लुट्ने र सम्पत्ति आँफैले कुम्ल्याउने कम्युनिष्टहरुले कोरोना भाइरसको महामारीको समयमा कोरोना खोपमा समेत भ्रष्टचार गरेर कुम्ल्याए ।’
कार्यक्रममा जिल्ला सभापति शंकरप्रशाद डाँगीले हरेक काँग्रेस जनको काँधमा पार्टीको पक्षमा जनमत तयार गर्ने जिम्मेवारी हुने हुँदा गाउँ घरमा गएर काँग्रेसको पक्षमा वकालत र कम्युनिष्टको अबसरबादी चरित्रको बिरोधमा उत्रन आग्रह गरे ।
क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा तुलसीपुर उद्योग बाणिज्य संघमा भएको कार्यक्रमलाई काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे,प्रदेश सांसद शंकर गिरी लगाएत दर्जन बढी नेता कार्यकर्ताले सम्बोधन गर्दै देशको निकास र बिकासका लागि नेपाली काँग्रेसको बिकल्प नरहेको भन्दै काँग्रेसका हरेक उम्मेदवारलाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गरेका थिए ।
