२०८१ चैत्र ९ गते शनिवार

जेरी जस्तै जेलिएको चारलेन सडक


घोराही, फागुन ११ । तुलसीपुर– घोराही चारलेन सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने अन्तिम समय बित्न अब करिव ३ महिना मात्रै बांकी छ ।

कारोना भाइरसको संक्रमणको कारण देखाउंदै थपिएको म्याथ सन २०२२ मे २१ सम्म मात्रै हो । तर चारलेन सडक स्तरोन्नतिको काम केही महिनादेखि ठप्प प्राय छ ।

कुनैपनि स्थानमा कामदारको उपस्थिति छैन । यस्तो अवस्थामा पनि यहां न नागरिकका तर्फबाट विरोधका आवाज सार्वजनिक भैरहेका छन् नत सरकारी निकायले यसको विषयमा केही बोल्न सकेको छ ।

एक पछि अर्को विवादमा फस्दै आएको चारलेन सडक परियोजना जेसी जस्तै जेलिदै गएको छ । जेरीमा कुन प्वालबाट रस पस्छ, फेद कहाँ ? टुप्पो कहाँ ? पहिचान नै गर्न सकिंदैन ।

चारलेन सडक स्तरोननतिको काम पनि जेरी जस्तै भएको छ । जेरीको गुलियो स्वादको परिकल्पना गर्दै परियोजनामा छिरेका निर्माण व्यवसायी उम्कन नसक्ने अवस्था देखिएको छ ।

काम लगाउने सरकारी निकायलाई पनि जेरीको स्वाद निल्नु न ओकेल्नु भएको छ ।
‘चारलेन जेरी जस्तै बन्नुमा जति ठेकेदारको दोष छ, त्यत्तिकै दोष सरकारी विषयगत कार्यालयको पनि छ,’ तुलसीपुर उपमहानगरपालिका—१८ का स्थानिय नागरीक अगुवा डिल्ली डाँगीले भने ‘दुवैको वेइमानीका कारण हामी स्थानियबासीले सडकमा यो सास्ती व्यहोर्दै आएका छौं।’

उनको भनाइमा समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरेर नयाँ प्रक्रिया सुरु गर्न नसक्ने सरकारी अधिकारीहरु पनि यो परियोजनामा उत्तिकै दोषी रहेका छन् ।

घोराहीको कुइरेपानीबाट तुलसीपुरको हात्तीखौवा चोकसम्म करिव २८ किलोमिटर सडकलाई चारलेन बनाउने काममा खनिएका खाडलहरुले पछिल्लो एक बर्षमै १५ जनाको ज्यान गइ सकेको छ ।

अन्य दर्जनौं दुर्घटनामा अन्य धेरै घाइते तथा अपाङ बनेका छन् ।

धराप जस्तै बनेको तुलसीपुर– घोराही सडक खण्डमा दिनदिनै दुर्घटनाको उच्च छ । तुलसीपुर– घोराहीको २४ किलोमिटर सडक पारगर्न सार्वजनिक यातायातलाई डेढ घण्टा बढी समय लाग्ने अवस्था सृजना भएको छ ।

तर पनि यतिखेर चारलेनको काम अपेक्षा गरिए अनुसार अगाडि बढेकै छैन । बरु यो प्रक्रिया एक पछि अर्को चक्रव्युहमा फस्दै गएको देखिएको छ ।

‘हामीले यस परियोजनामा काम नभएको पाएपछि ठेक्का तोड्ने प्रक्रियामा ठेकेदारको बैंक खाताबाट पैसा खिच्दै थियौं,’ चारलेन सडक स्तरोन्नती परीयोजना लमही फिल्ड कार्यालयका प्रमुख डिइ अर्जुन वमले भने – ‘तर अदालती प्रक्रियाका कारण रोकिन पुगेको छ । यो विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ।’

चारलेन सडक निर्माणका लागि निर्माण कम्पनीलाई सरकारले १२ करोड रुपंैया मोविलाईजेशन खर्च स्वरुप पेस्कि रकम उपलव्ध गराएको थियो ।

यसबीचमा जम्मा दुई करोडको मात्र विल पास भएकाले परियोजना कार्यालयले बाँकी रकम खिचेर ठेक्का तोड्ने प्रक्रिया सुरु भएपनि त्यो अदालतमा परेको मुद्दाका कारण रोकिन पुगेको उनले जानकारी दिए ।

पेस्कि रकम खिच्न निर्माण कम्पनीको बैंक ग्यारेन्टी बसेको नेपाल बंगलादेश बैंकलाई चारलेन परियोजनाले पत्र पठाएको थियो । तर बैंकले पैसा पठाउन मानेको छैन । बैंकले अदालती प्रक्रियामा रहेकाले आफुले पैसा खिच्न नसक्ने अवस्था उत्पन्न भएको उनले बताए ।

बिहीबार उच्च अदालत पाटनमा छलफल हुँदै
तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्ट, नेपाल सरकार चारलेन परियोजना फिल्ड कार्यालय लमही, तथा परियोजनाको निर्देशनालयलाई समेत विपक्षी बनाएर सुवास श्रेष्ठले उच्च अदालत पाटनमा धरौटी रकम नखिच्न अन्तरिम आदेश जारी गरीपाउँ भन्दै मुद्दा दिएका छन् ।

जस्ले गर्दा पेस्कि रकम खिच्ने काम रोकिएको परियोजनाका डिइ वमले बताएका छन् । यो विषयमा उच्च अदालत पाटनले विहिवार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विहीवारको छलफलपछि मात्रै टुंगो लाग्ने छ । बंगलादेश बैंकमा निर्माण व्यवसायिका तर्फबाट धितो राख्ने व्यक्ति सुवास श्रेष्ठ रहेका छन् ।

करिव १ अर्व २१ करोड रुपंैयामा ठेक्का भएको परियोजनामा काम ठप्प भएपछि ठेक्का तोड्ने प्रक्रिया अनुरुप पेस्कि रकम खिच्नका लागि बैंकलाई परियोजनाले पत्राचार गरेको थियो ।

‘पटक पटक तथ्य इन्जिनियरिङका प्रतिनिधिसंग छलफल भएपनि काम सुरु भएकै छैन । यो अवस्थामा ठेक्का तोड्नुको हामीसंग अव कुनै विकल्प छैन’, परियोजना प्रमुख वमले भने–‘समस्याको जालो जेरीझंै जेलिएको सत्य हो ।’

परियोजनालाई राजनीतिक संरक्षण हुन नहुने भन्दै अव दाङबासीले यसमा खवरदारी गर्नुपर्ने पनि उनको सुझाव छ ।

चारलेन सडक निर्माणका क्रममा आधिकारिक तथ्य इन्जिनियरिङका प्रतिनिधि एक पटक मात्रै दाङ आएर एक बर्षको कार्यतालिका बनाएर निर्माणको काम सक्ने उद्घोष गरेका थिए ।

उनले तत्काल काम सुरु हुने पत्रकार, नागरिक समाज, प्रशासन प्रमुख र राजनीतिक दलका प्रमुखहरुबीच पनि प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले काममा भएको ढिलासुस्तिबारे क्षमा माग्दै अघिल्ला पेटी ठेकेदार अनुप पाण्डेलाई हटाएको र नयाँ पेटी ठेकेदारबाट काम गराउने अबगत गराएका थिए । तर, यो बीचमा एक जना पेटी ठेकेदार शम्भु चौधरीको हत्या भइसकेको छ ।

लेनदेनकै कारोवारका कारण उनको हत्या भएको प्रहलीले बताइ सकेको छ ।
ती बाहेक अरु दुई जना ठेकेदारको पनि पछिल्लो समय अत्तोपत्तो छैन ।

अनुप पाण्डेले पनि आँफु परियोजनाको कामबाट आफु वाहिरिएको बताइ सकेका छन् ।

तर अनुप पाण्ड वाहीरिंदै गर्दा उनले गरेको कामको मुल्यांकनको काम, लेनदेनको काम र स्वामित्व अन्य ठेकेदारलाई हस्तान्तरणको काम पनि जोलोमै जेलिएको छ ।

लेनदेनकै कारोवार नमिल्दा नयाँ ठेकेदारहरु पनि कार्य क्षेत्रमा आउन सकेका छैनन् ।

सडक स्तरोन्नतिको काम सुरु नहुँदा दुवै तर्फका सडक किनारासम्म कटिङ गरिएको सडक खण्ड धराप जस्तै बन्न पुगेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *