दाङ,पुस २५ । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका एकजना सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको छ ।’ यद्यपि उनमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उनले बताए ।
शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी थिए । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।
शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किए लगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।