शिवराज पन्थी
गढवा, २८ पुस ।
सबैजसो कार्यक्रममा मञ्चमा बसेका अतिथिहरुले भाषण गर्ने गर्थे तर शनिबार कार्यक्रममा सहभागी भएका महिलाहरुले स्थानीय विकासमा महिलाको सहभागिता आवश्यक रहेको बताउँदै दिनभरजसो जनप्रतिनिधिबीच भाषण गरेर सुनाए । जनता माध्यमिक विद्यालयको फिल्डमा महिलै महिलाको जमघट, कतै महिलाहरुले भाषण गरिरहेका थिए त कतै फुटबल, कुर्सीदौड र ब्यालुनफोड खेल खेलिरहेको देखिन्थ्यो । नेपालकै प्रसिद्ध रंगकर्मी एवं सिपी नेपालका केन्द्रीय अध्यक्ष किरण मानान्धर र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भने महिलाहरुको भाषण कला सुनेर दंग परिरहेकी थिइन् ।
चेतना आमा समूह घोराहाकी सुनिता चौधरीलाई सञ्चालकले मञ्चमा बोलाउनु भयो । अतिथिहरुलाई सम्बोधन गर्दै आज अतिथिहरुको होइन हाम्रो बोल्ने पालो भन्दै चौधरीले महिलाहरु घरको चुलो चौकोमा भात पकाएर र लुगा धोएर मात्र बस्ने होइन, सामाजिक क्षेत्रमा लागेर विकासमा सहभागिता जनाउनुपर्ने बताइन् ।
गढवा–५ परस्पुरकी काैिशला चौधरी र गढवा–७ झारबैराकी स्वस्तिका चौधरीले पनि महिलाहरु उपभोक्ता समितिमा बस्नु पर्ने र सरकारका स्थानीय निकायमा पुगेर आफ्ना अधिकार खोज्नुपर्ने भन्दै विकास निर्माणमा सरिक हुन सबैलाई आह्वान गरिन् । उनीहरुलगायत २८ जना महिलाहरुले हजारौँ जनमानसबीच स्थानीय विकासमा महिलाहरुको सहभागिता हुनुपर्ने कुरामा जोड दिए ।
गढवा–५ तकियापुरकी छुकानिया चौधरीले साडी लगाएरै फुटवल खेलमा गोलकिपर बनेर बडो फूर्तिफार्तिका साथ सहभागी भएको दृश्यले हजारौं दर्शकहरुलाई आकर्षण दियो । साडी लगाएरै खेलमा सहभागी भएकी चौधरीले विपक्षी टिमले हानेको फुटबललाई सजिलैसँग फर्काइ गोल गर्नबाट रोकिन । जनता मावि गढवाको खेल मैदानमा महिलाहरुको चार टिमका ४४ जना फुटबल प्रतियोगिता भिडेको दृश्यले उपस्थित अतिथि र दर्शकहरुलाई रौनकता थपिदिएको थियो ।
सिपी नेपालले महिलाहरुबीच वक्तृत्व कला, फुटवल र अन्य खेलहरुको प्रतिस्पर्धा गराएको हो । सिपी नेपालका केन्द्रीय अध्यक्ष एवं रंगकर्मी किरण मानन्धरको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
वक्तृत्वकला प्रतियोगितामा चेतना आमा समूह घोराहाकी सुनिता चौधरी प्रथम, कोपिला आमा समूहका कौशीला चौधरी द्वितीय र प्रगतिशील आमा समूह झारबैराकी स्वस्तिका चौधरीले तृतीय स्थान प्राप्त गरी पुरस्कृत भएका थिए । यसैगरी फुटबल प्रतियोगितामा सुमित्रा चौधरीको टिम प्रथम र साडी लगाएरै खेल मैदानमा उत्रियकी छुकानीया चौधरीको टिमले दोस्रो पुरस्कार हात पारेको छ । कार्यक्रमको सहजीकरण तथा ब्यवस्थापन संस्थाका निर्देशक दिनेशराज सापकोटा र महिला संयोजक सरिता चौधरीले गरेका थिए ।