२०८२ मङ्सिर १ गते सोमवार

सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ: दाहाल

काठमाडौँ,भदौ २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहालले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२औं स्मृतिमा आयोजित कार्यक्रममा दाहालले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताए।

उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने दोहोर्‍याए । उनले गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताए ।

दाहालले आफूहरू गठबन्धनलाई बलियो बनाउन चाहे पनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप लगाए।
त्यस्तै उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्ने धारणा राखे ।

त्यस्तै दाहालले एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको आरोप लगाए । उनले सूर्य चिन्ह र मदन भण्डारीको नामको प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे ।

एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनले बताए। दाहालले क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुने धारणा राखे ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *