दाङ, जेठ ५ । बाँकेमा दाङका दूईसहित थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बेलुका ५ बजे गढवा गाउँपालिका वडा नं. ७ की ३० बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै बुधबार बिहान साढे ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको वलीले जानकारी दिएका छन् ।
मृतक मध्य दूई जना दाङका, एक जना रुकुम पश्चिमका, तीन जना बर्दियाका, दूई जना कैलालीका र थप नौ जना बाँके जिल्लाका रहेका छन् । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
यो संगै बाँकेमा कोरोनाका कारण हालसम्म ४६२ जनाको मृत्यु भएको छ । जसमा बाँके जिल्लाका २५३ र बाहिरी जिल्लाहरुबाट त्यहाँ उपचारका लागि लगिएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।
