तुलसीपुर, बैशाख २२ । ४२ बर्षीय अहेब ठगुराम भण्डारी बैशाखी बिना उभिन सक्दैनन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत उनी गत चैत २२ गते दूर्घटनामा परे ।जुनदिन उनी कोभिड–१९ को भ्याक्सिन लगाएर फर्किदै थिए । उनी सवार मोटरसाईकललाई घोराही उपमहानगरपालिका वडा नं. २ रामपुर चोकमा बाटो खनिरहेको डोजेरको बकेटले ब्याक गर्ने क्रममा ठक्कर दियो ।
त्यो ठक्करले उनको दायाँ खुट्टा भाँचियो । अस्पताल पुगेर खुट्टा प्लाष्टर गरे । अहिलेको महामारीले कोरोना संक्रमित बिरामी दिनदिनै बढ्दै गए । त्यो थाहाँ पाएर उनी बैशाखीको साहारामै भएपनि डिउटीमा खटिएका छन् । भण्डारी आफ्नो कारणले कुनैपनि कोरोनाका बिरामी अप्ठेरो नपरुन र ज्यान नगुमाउन भन्ने चाहाना राख्छन् ।
भण्डारीले भने ‘ मेरो सेवाको अभावमा कसैले ज्यान गुमाउन नपरोस भनेरै म काममा फर्किएको हुँ ।’अफिसले काममा आउनै पर्छ भनेर ताकेता नगरेको भएपनि महामारीको अहिलेको समयमा आफ्नो दायित्व संझेर आफु काममा खटिदै आएको भण्डारीले बताए ।
उनले दैनिक साथीहरु संग मिलेर १० देखि १२ घन्टा डिउटी गर्दै आएको बताए । भने ‘ हामी ५ दिन डे टाईम र ५ दिन नाईट टाइममा डिउटी गर्दै आएका छौं ।’
परिवारले पनि अहिलेको महामारीको समयमा अरुको ज्यान जोगाउनु केही आफुले कष्ट सहन पनि तयार हुनुपर्छ भनेर ढाडस दिने गरेको अहेब भण्डारीले बताए । उनले कोभिडलाई कसैले पनि खेलाँची ठान्न नहुने र सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव दिए ।