दाङ, बैशाख २२ । बैतडीमा चट्याङ लागेर मृत्यु भएका एक वडा सदस्यको शव बोकेर पोष्ट मार्टमका लागि अस्पताल जाँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिल्लाको पञ्चेश्वरमा मंगलबार भएको जिप दूर्घटनाका घाइते मध्य पञ्चेश्वर गाउँपालिका वडा नं. ६ का ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ ।
उनको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । यो भन्दा पहिले पञ्चेश्वर–६ का २७ वर्षे हिम्मत भण्डारी, ४० वर्षे दीपक भण्डारी, ५० वर्षका जितसिंह भण्डारी, ३० वर्षे डम्मरसिंह भण्डारीको घटनास्थलमै र जिपका चालक तेजबहादुर बोहराको अस्पताल लैंजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर– ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल जाँदै गरेको से १ ज १८३ नम्बरको उक्त जिप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडीदेवल नजिकै दुर्घटनामा परेको थियो ।
जिपमा १० जना सवार थिए । दुर्घटनाका थप चार घाइतेको उपचार भइरहेको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।