२०७८ जेष्ठ ४ गते मङ्गलवार

जो छटपटाई रहेका बिरामीका लागि अक्सिजन सिलिण्डर खोज्न तल्लिन छन्

तुलसीपुर, बैशाख २१ ।  यतिखेर तुलसीपुरका युवा ब्यबसायी पदम पोखरेल अक्सिजन सिलिण्डरको खोजीमा तल्लिन छन् । 

उनलाई रातदिन भ्याइ नभ्याई छ । कहिले कुनै उद्योग त कहिले कुनै बिरामीकोमा अक्सिजन खोज्न र छोड्न दौडिरहन्छन् । उनले अक्सिजन सिलिण्डरको यसरी खोजी  अभियान थालेको हप्ता दिन   बढी भइसकेको छ । 

कोभिड–१९ महामारीको समयमा छिमेकी देश भारत लगाएत नेपालगञ्जमा पनि अक्सिजन अभाव र बेड अभावले बिरामीको बिचल्ली देखेपछि उनले अक्सिजन सिलिण्डर खोजी अभियान सुरु गरेको बताए । ‘ यहाँपनि भोलि त्यस्तै हुन सक्छ भन्ने सोचेर मैले अभियान सुरु गरेको हुँ,’ पदमले भने । 

महामारीसंग जुध्न आफुले थालेको अभियानका बारेमा सामाजिक सञ्जालमा राखेपछि उनलाई धेरैले धन्यबाद मात्रै दिएनन् अप्ठेरोमा रहेका बिरामी र उनीहरुका आफन्तहरुले अक्सिजन माग गर्न थाले । 

‘रुँदै बिलौना गर्दै बिरामीले गरेको आग्रह मैले नकार्न सकिन,’ उनले भने ‘ यो बीचमा मैले कति बिरामीको घरमै निशुल्क अक्सिजन सिलिण्डर पु¥याइ दिएको छु ।’

सोमबार मात्रै १० जना अक्सिजन चाहिने बिरामीलाई घरमै लगेर सिलिण्डर छोडेको पोखरेलले बताए । 

अक्सिजन सिलिण्डर दिए बाफत उनीहरुले एक पैंशापनि  माग्दैनन् । 

‘यो मानविय सेवाको लागि हो,’ पोखरेलले भने ।

तुलसीपुरस्थित नुमना अटोभिलेज क्षेत्रबाट संकलन गरेका दश सिलिण्डर उनले त्यसभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकालाई प्रदान  गरिसकेका थिए । 

 पोखरेलको काम देखेर मेयर घनश्याम पाण्डेले उनलाई अक्सिजन सिलिण्डर ब्यबस्थापन तथा खोजी कार्यको सहजीकरण गर्ने जिम्मा दिए । 

त्यसपछि पोखरेललको संयोजकत्वमा तुलसीपुरका कर्मचारी टोपबहादुर डाँगी र मेयरका प्रेस सल्लाहाकार ओपेन्द्र बस्नेत दसस्य रहेको एउटा समिति गठन भयो । यो बीचमा अक्सिजन सिलिण्डर भएकाहरुले पनि आवश्यक पर्न सक्छ भन्ने मानसिकताले लुकाएर राखेका छन् । 

त्यसैले आफुहरुले बिभिन्न उद्योगहरुमा ग्यास सिलिण्डर खोजी गर्न थालेको पोखरेले बताए ।  मंगलबार मात्रै उनीहरु ग्वारखोला क्षेत्रमा रहेका क्रसर उद्योगहरुमा सिलिण्डर खोज्न पुगे । त्यहाँबाट केही सिलिण्डर बोकेर ल्याए । 

कतै  रित्तो र कतै अक्सिजनसहितको भरी सिलिण्डर फेलापर्ने गरेको  पोखरेलले जानकारी दिए । 

हाल निकट भविस्यमै तुलसीपुर ९ अश्वारामा सञ्चालन गर्ने तयारीमा रहेको भिमसेन मेट्रो अस्पतालका लागि अक्सिजन सिलिण्डरको खोजी भइरहेको पोखरेलले जानकारी दिए । 

अश्वारामा ५० बेडेको अक्सिजनसहितको आइसोलेन अस्पताल सञ्चालनको अन्तिर तयारी भइरहेको छ । 

तर, कोहीपनि बिरामीलाई अक्सिजन अभावमा निकै गाह्रो भएको सूचना पाउना साथ आफुले संकलन गरेको अक्सिजन सिलिण्डरसहित ती बिरामीको घरमै पुगेर आफुहरुले दिने गरेको उनले बताए । 

 पोखरेलले आफ्नो सामाजिक सञ्जाल मार्फत अर्कौ एक अभियान चलाउन अपिल गरे । त्यो अभियान भनेको एक थुकी सुकी, सय थुकी नदी भनेझै थियो । उनले अक्सिजन सिलिण्डरका लागि ‘मेरो एक हजार अभियान’का लागि आह्वान गरे । एक हजार रुपैंयाले एउटा सिलिण्डरमा अक्सिजन भर्न मिल्छ । उनको त्यो अभियानमा धेरै मानिसहरु जोडिदै गएका छन् ।  

मानिसहरुबाट स्वस्फूर्त रुपमा सहयोग आउन थालेपछि उनी थप उत्साहित छन् । तुलसीपुर नगर बिकास समितिका पूर्व अध्यक्ष यज्ञबहादुर केसीले एक्लै २१ वटा अक्सिजन सिलिण्डर भर्ने रकम जम्मा गरिसकेका छन् ।  

महामारीको यो कठिन सयमा धेरै मानिसहरुले सहयोग गर्न तयार भएपछि  तुलसीपुर उपमहानगरपालिका प्रकोप ब्यबस्थापनका नाममा तुलसीपुरस्थित मेघा बैंकमा खाता खोलिएको छ । उक्त  बैंकको ०३८००१००७९११२ नम्बरको खातामा मानिसहरुले रकम जम्मा गर्ने क्रम बढ्दै पोखरेलले जानकारी दिए । 

ग्यास ब्यबस्थापनमा सहजीकरणको भूमिका निर्वाह गरिरहेका पोखरेलले पनि आफु महामारीको समयमा अप्ठेरोमा परेका मानिसहरुलाई सेवा गर्न पाउँदा खुसी रहेको प्रतिक्रिया दिए । 

तस्विर– पदम पोखरेल

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *