
दाङ, बैशाख २० । सामुदायिक रेडियाहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ अकोर्याबका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो कमजोर हुनु भनेकै लोकतन्त्र कमजोर हुनु समान रहेको बताएका छन् ।
सोमबार एक सार्वजनिक अपिल जारी गर्दै अध्यक्ष गिरीले लोकतन्त्र र बहुलबादका लागि सूचनामा नागरिक अधिकार स्थापित गर्न सामुदायिक रेडियोहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भएपनि यतिखेर सामुदायिक रेडियोहरु निकै कमजोर अवस्थाको सामाना गरिरहेको उल्लेख गरेका छन् ।
हाल बजार अस्तब्यस्त हुनु, सामाजिक स्रोतहरु ठप्प हुनु र सरकारी स्रोतहरुमा पहुँच नहुनु जस्ता कारणहरुले गर्दा अहिलेको कोभिड – १९ को महामारीमा सामुदायिक रेडियोहरु अहिले सम्मकै अप्ठेरो मोडमा रहेको अध्यक्ष गिरीले बताएका छन् ।
गिरीले अहिलेको बिषम परिस्थितिमा लोकतन्त्रका सच्चा सहयात्री सामुदायिक रेडियोहरु संग साझेदारी गर्दे हातेमालो गर्न संघीय, प्रदेश र स्थानीय सरकारलाई जिम्मेवारी बोध गराएका छन् ।
गिरीले झन्डै ८० प्रतिसत भूभागमा सूचनाको सबैभन्दा सहज र भरपर्दौ माध्यम सामुदायिक रेडियोहरु नै भएको स्मरण गराउँदै त्यस्ता रेडियोहरुले बिगतमा सामाजिक जागरण, सामाजिक रुपान्तरण, संविधानसभाको निर्वाचन, महाभूकम्प तथा अन्य बिपदहरुमा सूचनाको माध्यमबाट निर्वाह गरेको भूमिकाको महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

