तुलसीपुर, बैशाख १७ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा बेड अभाव भएपछि बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर उपचार थालिएको छ । सबै बेड भरिएपछि पाँच जना बिरामीलाई अस्पताल बाहिरै राखेर भएपनि अक्सिजन दिएर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
बेलझुण्डी अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार ती बिरामी तुलसीपुर र घोराहीका हुन । दिउँसो ६ जना सम्मलाई अस्पताल बाहिरै राखेर उपचार गरिएको भएपनि बेलुकी पख एउटा बेड खाली भएपछि एक जनालाई भित्र लगिएको वलीले बताए । अस्पताल भित्र ४२ बेड रहेपनि शुक्रवार ४३ जनालाई राखेर उपचार भइरहेको वलीले जानकारी दिए ।
अहिलेका संक्रमित गम्भीर अवस्थामा अस्पताल आउने गरेको र उनीहरुलाई अक्सिजन बिना बचाउन मुस्किल पर्ने हुँदा बिरामीको जीवन बचाउनका लागि बाहिरै राखेर भएपनि उपचार गर्न बाध्य भएको उनले जानकारी दिउ ।
बिरामीको संख्या बढ्दै जान थालेपछि अस्पतालमा अक्सिजनको अभाव खड्किएको उनले बताए । आफुले दैनिक कम्तिमा पनि ३०० सिलिण्डर अक्सिजन ग्यासको माग गरेको भएपनि नेपालगञ्जको सप्लायर्सले दैनिक जम्मा एक सय २० ÷ ३० सिलिण्डर भन्दा बढी दिन नसक्ने बताउने गरेको हुँदा समस्या भएको उनले बताए ।
बिरामीको अबस्था बुझ्न बेलझुण्डी अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बिरामीलाई बाहिरै राखेर उपचार गर्नु परेको र अक्सिजनको समेत अभाव हुन थालेको कुरा आफुले अवगत गराएको ब्यबस्थापक वलीले बताए ।
यसैबीच नेपाली सेनाका ३० जना मानिसहरु आएर अस्पतालमा बेड बिस्तारका लागि काम गरिरहेको वलीले बताए । सकभर बिरामीलाई बाहिर नराख्नका लागि प्रयास भइरहेको वलीले जानकारी दिए ।
बिहीवार दिउँसो पनि घोराही १ बाट आफ्ना संक्रमित अंकलनलाई ल्याएर भर्ना गर्न आएकी एकजना किशोरी अस्पताल परिशरमै बेड नपाएर धुरु धुरु रोएकी थिइन ।
तस्विर : द्रोण ओली ।