दाङ, बैशाख ११ । कोरोना संक्रमणबाट संबिधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो । श्वास प्रश्वास सम्बन्धी समस्याले उनी सिकिस्त थिइन । उपचारकै क्रममा सिद्धिकीको शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा। पारश पाण्डेले जानकारी दिए ।
उनको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको थियो । सिद्धिकी पहिलो संबिधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद भएकी थिइन् । मुस्लिम महिलाको अधिकारका निम्ती उनी लामो समयदेखी संघर्षरत एक मात्र महिला हुन् । घरभित्रै सिमित रहने मुस्लिम महिलालाई बाहिर निस्केर बोल्न सक्ने बनाउनुमा उनकै योगदान रहेको चर्चा गरिन्छ । सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार परिवार र नेपाली सेनाको समन्वयमा अन्त्येष्टी गरिनेछ ।
तिब्र रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । बितेको २४ घण्टाभित्र भेरी अस्पतालमा उपचाररत अन्य ६ जना संक्रमितको मृत्यु भइसकेको छ । मृतक सबै बाँकेबासी हुन् । भेरी अस्पताल नेपालगन्जमा बाँके, खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ७२ बर्षिया महिलाको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि भर्ना भएको भोली पल्ट शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको हो ।
यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी ५५ बर्षिया महिला बदरुना निशाको पनि मृत्यु भएको छ । गत चैत ३१ गते बागेश्वरी ल्याबमा स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि बैशाख ६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान पौने ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यसैगरी नेपालगन्ज १० निवासी ६१ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पोजेटिभ आएपछि यही बैशाख ८ गते भर्ना भएकी उनको शुक्रबार राती सवा १ बजेतिर मृत्यु भएको हो । अस्पतालमा नेपालगन्ज त्रिभुवन चोक निवासी ३५ बर्षिय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ९ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती सवा ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । यसैगरी भेरी अस्पतालमै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ८४ बर्षिय पुरुषको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भएपछि बैशाख ७ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।त्यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ७५ बर्षिया महिलाको पनि मृत्यु भएको छ । परिवारका अनुसार कोरोना पोजेटिभ भएपछि उनलाई श्वास प्रश्वासमा समस्या आएको थियो ।
त्यसपछि उनलाई बैशाख २ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार हुन नसकेपछि शुक्रबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जनाए । यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ७९ पुगेको छ । कोरोेना संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका ब्यक्तिको मृत्यु हुनेको संख्या १ सय रहेको केन्द्रले जनाएको छ ।