सुर्खेत, चैत ३ । जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया एक महिलालाई कैद सजायको फैसला सुनाएको छ ।
सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।
ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन ।
तर, ती महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिदै ती महिलालाई नै उल्टै जेल सजायको फैसला सुनाएको हो ।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए ।
महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत अदालतले गरि सकेको छ ।