तुलसीपुर, फागुन १० । तुलसीपुरको दूधेनामा सोमवार जीपले अटोलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् । दूर्घटनाका गम्भीर घाइते दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय अटो चालक रमेश बिकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
गम्भीर घाइते बिकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । उनको उपचारका क्रममा बेलुकी सातबजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दूर्घटनाका घाइते मध्य अटोमा सवार शान्तिनगर १ की ३० बर्षीया रुपा वली, उनकी २ बर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ बर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको र उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै अटोमै सवार अन्य दूईजना घाइतेको अवस्था सामान्ने रहेको र उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताएको छ । दिउँसो तीन बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दूघेनामा एक आपसमा ठोक्किदा उक्त दूर्घटना भएको हो ।
जीप चालक प्रहरी नियन्त्रणमा छन् । दूर्घटनाको कारण खुल्न नसकेको भएपनि तीब्र गतिलाई कारण मानिएको छ ।