दाङ, फागुन १० । बाँकेमा दशलाख भारतीय रकमसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तरपूर्वी दिल्ली जफ्फाराबादका ५४ बर्षीय मुलबार खान दशलाख नगद भारतीय रकमसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ स्थित भन्सार चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन । खानले बोकेका दूईवटा झोलामा २ हजार दलका ३ थान र ५ सयका नोट १ हजार ९ सय ८८ वटा बरामद भएको प्रहरीले जनाएको छ ।
भन्सार सुरक्षा गार्ड नेपालगञ्जबाट खटिएका प्रहरी नायव निरिक्षक भिमबहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहाबाट खटिएका सहायक प्रहरी निरिक्षक जिवनलाल बुढाको संयुक्त टोलीले बरामद गरेको हो । खानले उक्त रकम तामाको धुलो नेपालगञ्बाट खरिद गरि भारत लैजान भनेर आएको प्रहरीसंगको बयानमा बताएका छन् ।
बिदेशी बिनियम ऐन २०१९ को दफा १७ बमोजिम बरामद रकम जफत गरि दश लाखदेखि ३० लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।