तुलसीपुर, फागुन ५ । दाङको पहाडी पालिका बंगलाचुलीमा एक लाख मूल्य बराबरको रिचार्ड कार्ड चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ४ श्रीबारी बस्ने १८ बर्षीय इन्द्र गिरी रहेका छन् ।
गिरीले बंगलाचुली ३ कमिरेचौर निवासी कमलाल पौडेलले सञ्चालन गरेको दाजु भाइ जनरल स्टोरवाट माघ १ गते राति एकलाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले पसल धिन पौडेलको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरीले नै ती रिचार्ज कार्ड चोरी गरि घरमा राखेको अवस्थामा बरामद गरिएको जानकारी दिए ।
पौडेलले आफ्नो पसलबाट माघ १ गते राति एनटिसी र एनसियलको गरि करिब एक लाख बराबरको रिचार्ज कार्ड र नगद २० हजार रकम चोरी गरेको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मंगलवार दिउँसो गिरी पक्राउ परेपछि उनको घर खानतलासी गर्ने क्रममा चोरीका ६१ हजार ८ सय बढीका रिचार्ड कार्ड बरामद भएको प्रहरीले बताएको छ ।
रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा दुरसञ्चार कार्यालय संग समन्वय गरि गिरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गिरीले आफुले चोरी गरेको रिचार्ज कार्ड अरु ब्यक्तिलाई बिक्रि गरेपछि अरु व्यक्तिहरुले आफ्नो मोवाईलमा रिचार्ज गरेको र उनीहरुलाई त्यो रिचार्ज कार्ड कहाँबाट खरिद गरेको भनेर अनुसन्धान गर्दै जाँदा गिरी पक्राउ परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइहरेको प्रहरी बताएको छ ।