देउखुरी, फागुन ३ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङस्थित राप्ती गाउँपालिकामा प्रदेश सरकारले सोमबार आफनो स्थापना दिवस मनाएको छ । सोही अवसरमा राप्ती गाउँपालिकाको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको समेत उद्घाटन गरिएको छ ।
मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यको चुनाव अघि राजधानीसंग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने जानकारी दिए ।प्रदेश पूर्वाधार प्राधिकरण स्थापना गरेर त्यसको सुरुवात भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले राप्ती प्राविधिक शिक्षालयलाई गोवरडिहामा स्थानान्तरण गरिएको जानकारी दिए ।
उनले अवको दुई बर्ष भित्र प्रदेश राजधानीका पुर्वाधार निर्माणमा ध्यान दिने भन्दै त्यसका लागि रचनात्मक सहयोग गर्न अपिल गरे । ‘राजधानी कस्तो बनाउने ? भनेर राजधानी बासीलाई रचनात्मक सुझाव दिन जरुरी छ,’ उनने भने ‘रचनात्मक सुझावहरु समेटेर राजधानीको गुरुयोजनामा तयार गर्ने छौं।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको पहिलो महत्वपूर्ण काम प्रदेशको राजधानी र नामको टुंगो लगाइएको भन्दै अब स्थायी राजधानीको संरचनाहरु निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी राप्ती गाउँपालिकालाई राजधानीको केन्द्र बनाएकोमा प्रदेश सरकारलाई धन्यवबाद दिए । उनले अब बिस्तारै सम्बन्धित कार्यालय पनि दाङमै आउने आशा व्यक्त गरे ।
कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्कृतिक झाँकीपनि प्रस्तुत गरिएका थिए ।