तुलसीपुर,माघ २९ । मध्यरातमा अटो चालकलाई खुकुरी देखाएर कुटपिट र लुटपाट गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ।गत पुस ११ गते राति पौने १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क तर्फ रा १ ह २५४६ नम्बरको अटो चलाएर आउँदै गर्दा तेजबहादुर नेपालीलाई चार जनाले खुकुरी देखाई तुलसीपुर १२ स्थित महेन्द्रमाबिको पछाडि एकान्त स्थानमा लगि कुटपिट पछि लुटपाट गरेका थिए।
पीडितले इलाका प्रहरी कार्यालय तुलसीपुरमा माघ १५ गते आफूमाथि भएको कुटपिट र लुटपाटबारे निवेदन दिएका थिए ।
त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । उक्त मध्यरातमा चार जनाको उक्त समूहले चालक नेपालीलाई निर्घात कुटपिट गरि घाइते बनाएर पछि दुबै हात पछाडि बाँधेर साथमा रहेको नगद करिब २ हजार ५ सय , स्यामसुङ कम्पनीको जे सेभन मोबाईल, युएस आर्मी लेखेको ज्याकेट, ब्लुटुथ र अटोसमेत लुटेर लगेका थिए। उनीहरुले अटोसमेत तोडफोड गरेर छोडेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंह संगको कुराकानीका क्रममा चालक नेपालीले चार जना अपरिचत युवाहरुले उनलाई बन्धक बनाउँदा मुख छोपेका थिए । घाँटीमा खुकुरी राखेर ज्यानलिने धम्कि दिएका थिए । त्यसैले चालक नेपाली उनीहरुले जता भन्छन् अटो उतै लान बाध्य भए ।
नेपालीले त्यो रातमा कसैलाई नचिनेपनि एक जनाको घाँटीमा ‘पानको पात’ भएको ट्याटु देखेको कुरा डिएसपी सिंहसंग बताएका थिए । प्रहरीले सुरुमा नेपालीबाट लुटिएको मोबाईलबाट अनुसन्धान थाल्यो ।त्यही बीचमा नेपालीबाट लुटेर लगेको मोबाइल अन गरेको संकेत प्रहरीले पायो । यो माघको अन्तिम साताको पहिलो आइतवारको कुरा थियो ।
लोकेसन ट्रयाप गर्दा तुलसीपुरको बसपार्क क्षेत्र देखायो । तर, भिडभाड युक्त बसपार्कमा को संग उक्त मोबाइल छ ? खोज्न संभब थिएन । त्यसपछि अभियूक्तको खोजी गर्न प्रहरीले नयाँ जुक्ति निकाल्यो । युवाहरुको घाँटीको ट्याटु नियाल्न थाल्यो ।
जसका लागि प्रहरी नायब निरीक्षक प्रमोद भण्डारी नेतृत्वको टोली परिचालन भएको थियो। तुलसीपुर बसपार्कमा माघ २६ गते बेलुका साढे ५ बजेतिर एक युवाको घाँटीमा प्रहरीले ‘पानको पात’को ट्याटु देख्यो।
ती सुमन नेपाली थिए। प्रहरीले उनको खानतलासी गर्दा गोजीमा लुटिएको नेपालीको मोबाईल फेला प¥यो। सुमन पक्राउ परे । तुलसीपुर १२ का २० वर्षीय सुमनको बयानका आधारमा तुलसीपुर ८ का २० वर्षका रोहित बिक, तुलसीपुर ६ का १८ वर्षे सरोज नेपाली र सल्यान त्रिबेणी गाउँपालिका वडा नं. ३ का १८ वर्षीय दिनेश डाँगीपनि पक्राउ परे । प्रहरी समक्ष उनीहरुले घटना स्वीकार गरिसकेको डिएसपी सिंहले जानकारी दिए ।