
राप्ती सोनारी गाउँपालिका वडा नं.८ शमशेरगञ्ज निवासी यज्ञबहादुर केसीको घर ।
दाङ, मंसिर २७ ।
बाँकेको शमशेरगंज शोकमा डुवेको छ । विवाह गरी चितवनबाट दुलही लिएर फर्किदै गरेको स्कारपियो दुर्घटनामा बेहुलाका बुवाआमा, भतिजासहित ६ जनाको मृत्यु भएपछि शमशेरगंज शोकमा डुबेको हो । राप्ती सोनारी गाउँपालिका वडा नं. ८ शमशेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रविण केसीको मृत्यु भएको छ ।
त्यस्तै सोही ठाउँकै ४९ वर्षिय विश्व अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नम्बर १३ का ७८ वर्षीय दत्तबहादुर खत्रीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहानै साढे १ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ को रिहार निजकै भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि विवाह उत्सव मनाउने प्रतिक्षामा बसेको शमशेरगंज शोकमा डुवेको छ ।
दुलाह शमशेरगंज निवासी २७ बर्षीय यज्ञबहादुर केसी बाबुआमा र आफन्त गुमाउँदा विक्षिप्त बनेका छन् । उनले चितवनबाट विहे गरेर शमशेरगंजस्थित आफ्नो घरमा दुलही २५ वर्षीय लक्ष्मी पौडेललाई एउटा उत्सव र उल्लासका साथ भित्र्याउने चाहना शोकमा डुब्न पुगेको छ । ‘विहेको उल्लास र उत्सव कुरेर बसेको गाउँ आज शोकमा डुवेको छ,’ एकजना स्थानीयले भने ‘ जन्ती मलामी बन्नुपर्ने यो कस्तो विडम्वना हो !’
नयाँ दुलही घरभित्र भित्र्याउनका लागि घर ल्याउन नपाउँदै बीच बाटो मै भएको अकल्पनीय दुर्घटनाको खबरले सारा गाउँ शोकमा डुवेको उनले बताए । ‘ पञ्चेवाजा बज्ने ठाउँमा उल्टो शंख बजाउनु पर्ने भयो,’ उनले भने ‘ यो दुखद् घटनाको खवरले सारा गाउँ शोकमा डुवेको छ।’
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको रिहार नजिकै बेहुली लिएर घर फर्कदै गरेको स्कारपियो र यात्रु बाहक बस एकआपसका ठोकिदा ६ जनाको मृत्यु भएको छ भने थप दुईजना गम्भीर घाईते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट बेहुली लिएर बाँकेस्थित शमशेरगंज घरतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबाहक बस एकआपसमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी स्कारपियोमा सवार बेहुलाका बुवा, आमा र ५ बर्षीय भतिजाको घटनास्थलमै मृत्यु भएको भएको थियो ।
वडा प्रहरी कार्यालय लमहीका सई पुरन मल्लले दिएको जानकारी अनुसार दुर्घटनामा परी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगंज निवासी ४९ वर्षिय विश्व अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नम्बर १३ का ७८ वर्षीय दत्तबाहदुर खत्रीको पनि मृत्यु भएको छ । दुर्घटनामा परी स्कारपियो चालक शमशेरगंजकै २१ बर्षीय यमबहादुर राना र शमशेरगंजकै ४५ वर्षीया गीतादेवी खत्री घाइते भएका छन् । घाइतेमध्ये खत्री खतरामुक्त रहे पनि चालकको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्कारपियोमा जम्मा ८ जना सवार थिए । त्यसमध्ये ६ जनाको मृत्यु भएको र दुई जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ । बेहुला बेहुली छुट्टै गाडीमा कही पछाडि आउँदै गरेका थिए । आमा बुवासहित केही आफन्त अलि छिटो घर पुगेर जन्तीको लागि बन्दोबस्त गर्न जान खोजेको सयममा दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण थाहा नभएपनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर प्रहरीले तीव्र गति वा हुस्सुले गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । दुर्घटनामा हुँदा स्कारपियोमा सवार ६ जनाको मृत्यु भएपनि बसमा सवार सबै यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस
स्कारपियो र बस ठोकिदा ६ जना को मृत्यु