हापुरे, माघ १३ । बबई गाउँपालिकाले भूमि सम्बन्धि समस्या समाधानका लागि जग्गा नापीको काम बुधवारदेखि सुरु गर्ने तयारी गरेको छ । भूमी सम्बन्धि समस्या समाधानका लागि गठन गरिएको सहजिकरण समितिको मंगलवार बसेको बैठकले बुधवारदेखि जग्गा नाप्न सुरु गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ५ रिमखोलीबाट जग्गा नापीको काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए । पहिलो चरणमा रिमखोलीबाट काम सुरु गर्ने र अन्य बस्तिबाट पनि नापीको काम थालिने अध्यक्ष पौडेलले बताए ।
यो गाउँपालिकाले कार्तिक २७ गते राजधानीमा भूमि सम्बन्धि समस्या समाधान आयोगसंग सम्झौता गरि सकेको छ ।
यसअघि घर÷घरमा गएर जग्गाको लगत लिइएको थियो । भूमि समस्या समाधान आयोगले पहिलो चरणमा सात प्रदेशका १४ वटा स्थानीय सरकारसंग सम्झौता गरी काम अघि बढाएको छ ।
लुम्बिनी प्रदेश अन्तरतगत दाङको बबई गाउँपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकासंग सम्झौता भइ काम भइरहेको छ ।