देउखुरी, माघ १३ । दाङको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरेको छ ।स्वास्थ्य क्षेत्रमा उनीहरुले गरेको योगदानको कदर स्वरुप य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरिएको हो ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा साईकल वितरण कार्यक्रम भएको हो ।सिसहनिया स्वास्थ्य र लालमटिया स्वास्थ्य चौकीको रोहवरमा कामगर्दै आएका ६४ जना स्वयंसेविकालाई साईकल प्रदान गरिएको हो ।
प्रमुख अतिथि सुबेदीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गन महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंशा गरे । महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँघरमा स्वास्थ्य सेवा दिन कार्यलाई थप उर्जा मिलोस भनेर साईकल प्रदान गरिएको उनले बताए ।
समुदायस्तरमा समुदायकै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उदेश्यका साथ स्वास्थ्य स्वयंसेविकालाई आवागमनमा सहजताका लागि साईकल प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो क्षेत्रमा स्थायी र अस्थायी परिवार नियोजन सेवा बारे परामर्श र सेवाको लागि प्रेषण, पिल्स,कन्डम वितरण गर्ने जस्ता कार्य गर्दै आएका छन् ।
त्यस्तै मातृ स्वास्थ्य प्रवर्धन अन्तरगत गर्भवति महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँचको लागि प्रोत्साह, गर्भवती महिलालाई आईरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसुति गराउन प्रोत्साहन र आमा सुरक्षा कार्यक्रमबारे जानकारी दिने जस्ता महत्वपूर्ण कार्य गर्दै आएका छन् ।