दाङ, माघ १० । लागु औषध मुद्दाका दूई फरार प्रतिबादी पक्राउ परेका छन् । रोल्पा जिल्लाको सुनछरी गाउँपालिका वडा नं. १ का २७ बर्षीय राजु बिक र रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकाको रातामाटाका २७ बर्षकै बिवेक खड्का पक्राउ पछि दाङ ल्याइएका छन् ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को सुलीचौर बजारबाट माघ ५ गते र रुकुम पश्चिमका खड्का माघ ८ गते काठमाडौंबाट पक्राउ परेको र उनीहरुलाई त्यसपछि दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
बिक असोज २५ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. ९ बनगाउँबाट बेलुका ८ बजे फरार भएका थिए । रा ५ प ९४३३ नम्वरको मोटरसाईकलमा सवार मध्य बिनोद डाँगी र घनसिंह टमोटालाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । उनीहरुको साथबाट प्रहरीले ३ किलो ७ सय ५० ग्राम अफिम र एउटा चितुवाको छाला बरामद गर्न सफल भएको थियो ।
त्यस्तै गत पुस २६ गते दाङको घोराही १५ कपाँसी बगियामा डेरा गरि बस्ने सोही वडाको भरतपुर घर भएका प्रकाश गिरीको डेराबाट ३ . ५ सय २० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यही सुराकको आधारमा घोराही १५ बुद्धि ग्यारेज नजिकै डेरागरि बस्ने सञ्तोष वलीको कोठाबाट ७ ग्राम ८ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका रातामाटाका खड्का फरार भएका थिए ।
फरार प्रतिबादी खोजी गर्ने क्रममा रोल्पाबाट बिक र काठमाडौंबाट खड्का पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुबै जना विरुद्ध लागु औषध मुद्दा चलाएर कारबाही गरिने भएको छ ।