२०८१ बैशाख ६ गते बिहिवार

ग्यास विस्फोट हुँदा जलेर घाइते भएका वली र आगो ताप्दा जलेकी नेपालीको काठमाडौंमा मृत्यु

तुलसीपुर, माघ ८ । आगलागीमा परि घाइते भई काठमाडौंमा उपचाररत तुलसीपुरका एक पुरुष र एक महिलाको माघ ७ गते राति उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वलीको बुधवार राति साढे ११ बजे उपचारका क्रममा किर्तिपुरमा मृत्यु भएको छ ।

त्यस्तै तुलसीपुर १८ की ५६ बर्षीया उर्मिला नेपालीको पनि बुधवार राति साढे ९ बजेतिर काठमाडौं किर्तिपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । अगेनामा आगो ताप्ने क्रममा पुस १४ गते नेपाली जल्न पुगेकी थिइन ।

तुलसीपुर १७ बनकट्टामा माघ १ गते बिहाना चल्लालाई न्यानो गराउन बालिएको ग्यास सिलिण्डर बिस्फोट हुँदा उपचारका क्रममा मृत्यु भएका लालबहादुर वलीकी ३३ वर्षीया श्रीमती गीता वलीको काठमाडौंमै उपचार भइरहेको छ ।

घाइते वली दम्पत्तिलाई घटना भएकै दिन दिउँसो हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उक्त घटनामा परि १३ वर्षीय सिजन खड्का पनि सामान्ने घाइते भएका थिए ।त्यो आगलागीमा परि गोठ जलेर नष्ट भएको थियो भने सबै ५ सय चल्ला जलेर मरेका थिए । घरमा समेत क्षति पुगेको प्रहरीले त्यतिबेला जानकारी दिएको थियो ।

त्यस्तै तुलसीपुर १० की ५५ बर्षीया मिनकला खड्काको पनि आगोमा जलेर मृत्यु भएको थियो । खड्का पुस १० गते विहान खाना पकाउँदै गर्दा सारीमा आगो सल्किएपछि गम्भीर घाइते भएकी थिइन । उनको माघ २ गते राति पाल्पामा मृत्यु भएको थियो ।

त्यस्तै घटनामा परि शान्तिनगर गाउँपालिका वडा नं. ४ की ७१ बर्षीया महिमी भण्डारी आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जलि गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार माघ ६ गते बेलुका साढे ६ बजेतिर भएको घटनामा परि उनको झन्डै २० प्रतिसत जति शरिर जलेको छ । उनको उपचार पाल्पामा भइरहेको छ ।

त्यस्तै आगो ताप्ने क्रममा दंगिशरण गाउँपालिका वडा नं. ७ लौबस्ताकी ६२ बर्षीया खुँईती चौधरी गम्भीर घाइते भएकी छन् । माघ ७ गते बेलुका ८ बजेतिर घरमै आगो ताप्ने क्रममा अगेनामा परेर उनी गम्भीर घाइते भएको र थप उपचारका लागि पाल्पा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *