माघ ८ । आज भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाडौं आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ।
एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप हस्तान्तरण गर्नु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभाग र हरेका प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।
मन्त्रालयकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ । खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ ।