दाङ, माघ ८।सर्लाही हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ।
दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान सर्लाहीमा सडकबाट तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारीअनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित १७ जना घाइते छन्। गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।